काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सबिता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उनले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । त्यस्तै, उनले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यी विधेयक प्रस्तुत गर्नुअघि सम्बन्धित मन्त्रीहरूले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत बैठकमा पेस गर्नेछन् ।














