
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दक्षिण छिमेकी भारतको २५ घण्टे राजकीय अतिथि बनेर स्वदेश फर्किएका छन् । विगतका कुनै कूटनीतिक ‘ब्यागेज’ नबोकी भारत भ्रमणमा निस्किएका बालेन आठ बुँदे समझदारीको पाेको बोकेर फर्किएका छन् । भ्रमणको छोटो समय, सीमित भेटघाट र स्थापित कूटनीतिक परम्पराभन्दा भिन्न कार्यशैलीका कारण उनको दिल्ली यात्रा सुरुदेखि नै चर्चामा थियो । अब स्वदेश फर्किएसँगै उनको भ्रमणका उपलब्धि र सीमाको लेखाजोखा सुरु भएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेट, प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्ता र राष्ट्रपति द्रौपदी मुर्मुसँगको शिष्टाचार भेटपछि उनले निर्धारित २५ घण्टाको समयसीमामै भ्रमण टुंग्याए । जयशंकरसँगको भेटमा नेपाल र भारतबीच क्रिकेट खेल आयोजना गर्ने अनौपचारिक प्रस्तावदेखि दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषय चर्चामा आए । प्रधानमन्त्री मोदीले भिजन र प्रतिबद्धता प्रस्ट भएको युवानेता नेपालले पाएको भनेर बालेनलाई फुक्र्याए । औपचारिकता र एकअर्कालाई प्रसन्न गर्ने कुरामा मात्रै यो भ्रणको अर्थ र सन्देश खोज्नु सायद अपूर्ण हुनेछ ।
बालेनले भ्रमणअघि नै स्थापित कूटनीतिक अभ्यास र परम्परालाई चुनौती दिएका थिए । राष्ट्रपतिलाई पूर्वजानकारी नदिएको, पूर्वप्रधानमन्त्री र राजनीतिक दलहरूसँग राष्ट्रिय मुद्दामा परामर्श नगरेको तथा निजी क्षेत्रसँगको महत्त्वपूर्ण लगानी छलफलमा अनुपस्थित रहेको विषयले उनको कार्यशैलीमाथि प्रश्न उठाएको थियो ।
नयाँ पुस्ताको नेतृत्वले पुरानो कूटनीतिक शैली बदल्न खोज्नु स्वाभाविक हो । तर परम्परा तोड्नु र त्यसको ठाउँमा प्रभावकारी नयाँ अभ्यास स्थापित गर्नु फरक कुरा हुन् । बालेनले साँच्चै नेपालको कूटनीतिमा नयाँ भाष्य निर्माण गर्न खोजेका हुन् कि पुराना अभ्यासप्रतिको असन्तुष्टिलाई नै नयाँपन ठानेका हुन् ? उनको भारत भ्रमणले यही बहसलाई सतहमा ल्याएको छ । अब प्रश्न छ– दिल्लीबाट फर्किएपछि समझदारीहरु र साझा दृष्टिपत्रले नयाँ कूटनीतिक अध्याय खोल्छ कि यो भ्रमण केवल नयाँ शैलीको प्रदर्शनमा सीमित राख्छ ? प्रश्न उठेको छ ।
नेपालले के पायो ?
पहिलो, नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाईमार्ग उपलब्ध गराउने सहमति भएको छ । सिमरा रुटमात्रै प्रयोग गर्दै आएको नेपालले अब भैरहवा रुट पनि प्रयोग गर्न पाउनेछ । संयुक्त विज्ञप्तिको बुँदा नं ८ मा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी–३४५ काठमाडाैं–भैरहवा लखनउ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ ।’ र, यो नेपालको अन्तर्राष्ट्रिय उडान क्षेत्रमा एउटा महत्त्वपूर्ण ‘ब्रेक थु्र’ हो ।
दोस्रो, विपद्पछिको पुनर्निर्माणमा सहयोग । मोदीले भोटेकोशी–त्रिशूलीमा आएको बाढीपछि पुनर्निर्माण र दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्बको विकास सहकार्य प्याकेज घोषणा गरेका छन् । यसमा ५६ अर्ब अनुदान र एक खर्ब ८४ अर्ब ऋण सहयोग हो ।
तेस्रो, तेस्रो मुलुकसँगको व्यापारिक पहुँच विस्तारमा प्राथामिकता राखेको देखिन्छ । तेस्रो मुलुकसँगको व्यापारका लागि भारतले ओडिशाको पारादीप र गुजरातको कान्डला बन्दरगाह प्रयोग गर्न दिने सहमति पनि नेपालको महत्त्वपूर्ण उपलब्धि हो । हुन त नेपालले धाम्रा र मुन्द्रा बन्दरगाह मागेको थियो । भारतले आफ्नो रोजाइको बन्दरगाह दिने सहमति गरेको छ । यसले नेपालको समुद्री व्यापारका लागि विकल्प थप्छ र एउटै वा सीमित बन्दरगाहमाथिको निर्भरता घटाउन सक्छ । तर यी बन्दरगाहको वास्तविक उपयोगका लागि ढुवानी लागत, पारवहन प्रक्रिया, भन्सार र रेल–सडक सम्पर्क सहज हुनुपर्छ ।
चौथो, मुलुकसँगको व्यापारिक पहुँच र धार्मिक–सांस्कृतिक सम्पर्क । यससँगै सीमावर्ती पूर्वाधार र कनेक्टिभिटीका परियोजनाले पनि प्राथमिकता पाएका छन् । धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्धका दृष्टिले अयोध्या–जनकपुर सरयु–कमला रेल सेवा उल्लेखनीय निर्णय हो । सातामा एकपटक सञ्चालन हुने भनिएको यो रेलले राममन्दिर र जानकी मन्दिरलाई जोड्छ ।
तीर्थयात्रीको आवागमन बढ्दा जनकपुरको होटल, यातायात, हस्तकला र मिथिला चित्रकलाले बजार पाउन सक्छन् । तर यसअघि सुरु भएको जनकपुर–अयोध्या बस सेवाले निरन्तरता पाउन नसकेको अनुभवले रेल सेवा पनि नियमित, व्यावसायिक र दुवै देशका यात्रुलाई सहज हुनेगरी सञ्चालन गर्नुपर्ने पाठ दिएको छ ।
त्यसैगरी, सीमावर्ती पूर्वाधारमा दार्चुलाको असिगडा र भारतको धारचुलास्थित छारछुम जोड्ने ११० मिटरको मोटरेबल पुल उद्घाटन भएको छ । भारतीय लगानीमा बनेको यस पुलले स्थानीय आवागमन र व्यापार सहज बनाउनेछ । पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय सञ्चालन गर्ने तयारीले सीमाको व्यवस्थापन र निगरानीलाई पनि व्यवस्थित गर्ने अपेक्षा छ ।
भारतीय चार्तुयता, नेपालको कमजोरी
नेपालले यो भ्रमणमा अघि सार्नुपर्दा पुराना र जटिल मुद्दाको उच्चारण नै गर्न सकेन । हवाई प्रवेशमार्ग, सीमा विवाद, इपिजी प्रतिवेदन आदि कुरा उठ्नुपर्ने भन्दै भ्रमणअघि अनेक मिडिया बहस र विमर्श भएका थिए । तर, सरकारले यसबारे आवश्यक गृहकार्य गरेन । जसले गर्दा यो भ्रमणको सीमितता देखियो ।
तर भारतले भ्रमणलाई आफ्नो प्राथमिकतासँग जोड्न सफल भएको देखिन्छ । धार्मिक पर्यटन, रेल सम्पर्क, भारतीय बन्दरगाहमार्फत नेपालको व्यापार र सीमावर्ती पूर्वाधारका सहमतिले नेपालको निर्भरता भारतीय सञ्जालसँग थप जोड्छन् ।
भारतको आतिथ्य र प्रशंसा कूटनीतिक सम्बन्धका सकारात्मक पक्ष हुन्, तर ती राष्ट्रिय हितका ठोस उपलब्धिको विकल्प होइनन् । नेपालले सम्मान पायो, सहयोगको घोषणा पायो; तर आफ्ना दीर्घकालीन रणनीतिक समस्या समाधान गर्ने सुनिश्चितता पाएन ।
नयाँ भाष्य कि सनक ?
प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमणले नेपालको परम्परागत कूटनीतिक अभ्यासमा केही नयाँ प्रश्न खडा गरेको छ । प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक द्विपक्षीय भ्रमणका रूपमा भारत पुगेका उनले आफ्नो भ्रमणलाई छोटो, सीमित र औपचारिक भेटघाटमा केन्द्रित राखे । तर भ्रमणको कार्यतालिकाभन्दा बढी चर्चा उनले तोडेका कूटनीतिक परम्परा छलफलयोग्य छन् ।
भारतजस्तो नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध गाँसिएको छिमेकी मुलुकको राजकीय भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने, पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्ने र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग राष्ट्रिय हितका मुद्दामा साझा धारणा बनाउने अभ्यास रहँदै आएको थियो । बालेनले यसपटक यी अभ्यासलाई निरन्तरता दिएनन् । भ्रमणअघि राष्ट्रपतिलाई औपचारिक जानकारी गराइएको देखिएन । पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र राजनीतिक दलहरूसँग पनि परामर्श भएन ।
राष्ट्रपतिलाई जानकारी गराउनु केवल औपचारिक भेटघाटको विषय होइन । यो राज्यका संवैधानिक संस्थाबीचको सम्बन्ध र कार्यकारी प्रमुखले राज्यको अर्को सर्वोच्च संस्थालाई गर्ने संस्थागत सम्मानसँग जोडिएको अभ्यास हो । त्यसैले यसलाई अनावश्यक औपचारिकता ठानेर पन्छाउन मिल्दैन ।
त्यस्तै, पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्नु पनि पुरानो पुस्तालाई सम्मान गर्ने कर्मकाण्डमात्र होइन । नेपाल–भारत सम्बन्धमा लामो समयदेखि थाँती रहेका सीमा समस्या, इपिजी प्रतिवेदन, पञ्चेश्वर आयोजना, हवाई रुट, व्यापार र पारवहनजस्ता विषय छन् । यी विषयमा विगतका सरकारहरूले गरेका छलफल, सहमति र प्रतिबद्धताबारे पूर्वनेताहरूको अनुभव र स्मृति महत्त्वपूर्ण हुनसक्थ्यो ।
यतिमात्र होइन, भारत भ्रमणका क्रममा प्रधानमन्त्री सहभागी हुँदै आएको नेपाल–भारत व्यावसायिक राउन्ड टेबलमा समेत उनी उपस्थित भएनन् । निजी क्षेत्रका प्रतिनिधिहरू यसबाट निरास छन् । परम्परागत अभ्यासप्रति असन्तुष्टि राख्नु र त्यसलाई बदल्न खोज्नु नयाँ राजनीतिक नेतृत्वको स्वाभाविक अधिकार हो । हरेक स्थापित परम्परा सही हुन्छ भन्ने पनि छैन । समयअनुसार राज्य सञ्चालनका शैली, कूटनीतिक व्यवहार र संस्थागत प्रक्रियामा परिवर्तन आवश्यक हुन्छ । तर परम्परा तोड्नुको औचित्य त्यसबाट प्राप्त हुने परिणामले पुष्टि गर्नु सक्नुपर्छ ।
प्रधानमन्त्रीले छोटो समयमै भ्रमण सम्पन्न गरे । धेरैले यसको प्रशंसा पनि गरेका छन् तर समय व्यवस्थापनको नाममा कूटनीतिक सम्बन्धका महत्त्वपूर्ण आयामलाई नै साँघुरो बनाउनु उपयुक्त हुन्छ कि हुँदैन ? प्रश्न उठ्छ । कूटनीति केवल उच्चस्तरीय भेटघाट र औपचारिक सहमतिमा सीमित हुँदा त्यसले विश्वास, संवाद र निरन्तरताको वातावरण कति निर्माण गर्छ ? सोचनीय छ ।
बालेनको राजनीतिक उदय परम्परागत दल र नेतृत्वको कार्यशैलीप्रतिको असन्तुष्टिको पृष्ठभूमिमा भएको हो । उनीबाट नयाँ पुस्ताले फरक सोच, फरक कार्यशैली र परिणाममुखी शासनको अपेक्षा गरेको छ । त्यसैले उनले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैली अपनाउन खोज्नु अस्वाभाविक होइन । तर राज्य सञ्चालन र व्यक्तिगत नेतृत्वशैलीबीच आधारभूत अन्तर हुन्छ । प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत कार्यशैली बदल्न सक्छन्, अनावश्यक औपचारिकता हटाउन सक्छन् र भ्रमणलाई परिणाममुखी बनाउन सक्छन् । तर राज्यका संस्थाबीचको समन्वय, राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण र आर्थिक कूटनीतिको प्रभावकारिता सुनिश्चित गर्ने जिम्मेवारीबाट उनी मुक्त हुन सक्दैनन् ।
धर्मपत्नीलाई साथमा नलिने वा औपचारिक सामाजिक कार्यक्रम सीमित गर्नेजस्ता विषयलाई पनि यही सन्दर्भमा छुट्याएर हेर्नुपर्छ । राजकीय भ्रमणमा जीवनसाथीको सहभागिता अनिवार्य कूटनीतिक दायित्व होइन । त्यसैले त्यसलाई मात्रै अपरिपक्वताको प्रमाण मान्न सकिँदैन । तर राष्ट्रपतिलाई जानकारी नदिनु, राष्ट्रिय हितका विषयमा परामर्श नगर्नु र आर्थिक कूटनीतिको महत्त्वपूर्ण मञ्चमा प्रधानमन्त्री स्वयं अनुपस्थित रहनु फरक प्रकृतिका विषय हुन् । नयाँ भाष्य स्थापित गर्न पुरानो अभ्यास तोड्न सकिन्छ । तर त्यसको ठाउँमा अझ प्रभावकारी अभ्यास पनि स्थापित गर्न सक्नुपर्छ । जहाँ बालेन चुकेका छन् ।
समग्रमा, नेपालले आर्थिक सहायता, समुद्री व्यापारका थप विकल्प, धार्मिक पर्यटन र सीमावर्ती पूर्वाधारमा सहयोग पाएको छ । भारतले नेपालको पुनर्निर्माणमा प्रभावकारी साझेदार बन्ने, व्यापारिक तथा यातायात सम्पर्क विस्तार गर्ने र सांस्कृतिक सम्बन्धलाई आर्थिक गतिविधिसँग जोड्ने अवसर पाएको छ । तर २ खर्ब ४० अर्ब रुपैयाँको प्याकेजको अनुदान–ऋण संरचना, बन्दरगाह प्रयोगका कार्यविधि र रेल सेवाको दीर्घकालीन सञ्चालन स्पष्ट नभएसम्म यी उपलब्धिको कति सार्थक हुनेछन्, प्रश्न जीवितै रहन्छ । भएका समझदारी र साझा दृष्टिपत्रले लिएको लक्ष्यको कार्यान्वयनपछि नै यो भ्रमण कति फलदायी भयो त्यसको असली परीक्षण हुनेछ ।
नेपाल र भारतबीच भएका आठबुँदे समझदारी
१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ ।
२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ ।
३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन् ।
४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन् ।
५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ ।
६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन् ।
७. स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन् ।
८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन् ।


















