
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताका जल्दाबल्दा मुद्दामा परिणाममुखी काम गर्न ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरे । सरकारको सुशासनको प्रतिबद्धता केवल नारामा मात्र सिमित रहेको आरोप लगाए ।
राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराए । भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीबारे उनले प्रश्न गरे।
‘गिरिबन्धु टी–स्टेट होस् वा वाइड बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि?,’ उनले प्रश्न गरे।
राईले सरकारलाई दुईतिहाइको नजिक रहेको शक्ति प्रयोग गरी भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिए। आफ्नो पार्टी भ्रष्टाचारीलाई कारबाही गर्ने जुनसुकै प्रक्रियामा सरकारलाई सहयोग गर्न तयार रहेको बताए।
‘हामीले पटक–पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ। आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्,’ राईले भने, ‘आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन।’













