
काठमाडौं । संघीय निजामती विधेयकमा महिला कर्मचारीलाई महिनावारी बिदा दिने प्रस्ताव गरिएको छ ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज संसद्मा दर्ता गराएको संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।
विधेयकको १२५ नम्बर बुँदामा रहेको निजामति कर्मचारीले पाउने बिदामा ‘महिनावारी/रजस्वला बिदा’ पनि थप गरिएको छ ।हालसम्म निजामती सेवामा छुट्टै ‘रजस्वला बिदा’को व्यवस्था राखिएको थिएन ।
प्रचलित बिदामा बिरामी, प्रसूति, प्रसूति स्याहारलगायत मात्रै छन् । श्रम ऐन, २०७४ मा पनि महिला श्रमिकका लागि बिरामी बिदा, प्रसूति बिदा लगायतका बिदाको मात्रै व्यवस्था छ । तर अब भने महिलाहरुलाई महिनावारी बिदा दिने पनि प्रस्ताव गरिएको हो ।













