विराटनगर । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन अधिवेशनमा कुटपिट भएपछि संयोजक नै फेरिएका छन् ।

बुधबार मोरङको सुन्दरहरैँचामा अधिवेशन सुरु हुनुअघि नै नेता चुमनारायण तबदारसहित तीन जनामाथि सांघातिक आक्रमण भएको थियो ।
क्षेत्रीय संयोजकको जिम्मेवारी पाएका नेतामाथि नै आक्रमण भएपछि कांग्रेसले बिहीबार क्षेत्रीय संयोजक फेरेको हो । संयोजक फेरिएपछि शुक्रबारबाट निर्वाचन प्रक्रिया पनि सुरु गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई अधिवेशन गर्नेगरी क्षेत्रिय संयोजकको जिम्मेवारी दिएको हो । महामन्त्री प्रदीप पौडेलले बिहीबार मण्डललाई संयोजक तोकिएको पत्र पठाएका थिए ।
संयोजक फेरिएपछि बुधबारबाट रोकिएको निर्वाचन प्रक्रिया शुक्रबारबाट सुरु हुने नेपाली कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलाले जानकारी दिइन् । सुन्दरहरैँचामा अधिवेशन सुरु नहुँदै आक्रमण भएपछि अधिवेशन स्थल पनि सारिएको छ ।
क्षेत्रीय अधिवेशन बुढीगंगा गाउँपालिका–३ बाँसबारीमा रहेको राजवंशी खवास सामुदायीक भवनमा शुक्रबार बिहान ७ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने तय गरिएको छ ।
बुधबार आक्रमण हुँदा नेता चुमनारायण तबदार र चेतराज रेग्मीलगायत घाइते भएका छन् । सहमहामन्त्री संग्रौलामाथि पनि दुर्व्यवहार भएको थियो ।
यसअघि क्रियाशील सदस्य विवादका कारण क्षेत्र नम्बर ६ को वडा अधिवेशन समयमा नै भएको थिएन । मोरङ–६ डा. शेखर कोइरालाको क्षेत्र हो । उनी कांग्रेस संस्थापन र इतर समूहले गर्ने १५ औं महाधिवेशन प्रक्रियाबाट अलग छन् ।
क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापति कोइरालानिकट नेता देवराज तामाङ थिए । केन्द्रीय नेतृत्वले असहयोग गरेको भन्दै अधिवेशन गर्नेगरी पूर्वसांसद तबदारलाई जिम्मेवारी दिएको थियो ।













