Logo
Logo

फ्लाई दुबईको भित्री रहस्य (भिडियोसहित)


0
Shares

काठमाडौं । घटना फ्लाई दुबईको एफजेड–१०७३ उडानको हो । बुधबार फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमान दुबईबाट तेल अभिभतर्फ उडेको थियो । विमानमा १७४ जना यात्रु तथा चालक दलका सदस्य थिए । सुरुमा उडान सामान्य नै थियो, विमान ३० हजार फिटभन्दा बढीको उचाइमा पुगिसकेको थियो । तर, केही समयपछि ककपिटभित्रै यस्तो घटना घट्यो, जसले पूरै उडानलाई जीवन–मरणको दोसाँधमा पु¥यायो ।

उडान भरेको करिब दुई घण्टापछि ककपिटभित्रै रहेका को–पाइलटले मुख्य पाइलट स्मित मच्छारमाथि चक्कु प्रहार गरे । क्याप्टेन मच्छारमाथि आक्रमण भएपछि विमानको नियन्त्रण गुम्यो र विमान तीव्र गतिमा तल खस्न थाल्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विमान दुई मिनेटमै १४ हजार फिट तल झरिसकेको थियो । केही सञ्चारमाध्यमले १७ हजार फिट तल झरेको पनि उल्लेख गरेका छन् । यात्रुहरूका अनुसार विमान अचानक ठूलो ‘टर्बुलेन्स’मा परेजस्तै गरी तल खसिरहेको थियो ।

यसैबीच विमानबाट इमरजेन्सी कोड समेत प्रसारण हुन थाल्यो । सुरुमा ‘७७००’ कोड प्रयोग भयो, जुन सामान्य आपत्कालीन अवस्थाको अन्तर्राष्ट्रिय सङ्केत हो । त्यसपछि ’७५००’ कोड प्रसारण भयो, जसको अर्थ विमान अपहरणमा परेको भन्ने हुन्छ । विमान त्यतिबेला साउदी अरेबिया र जोर्डनको सीमा आसपासको आकाशमा थियो । उडानको अवस्था हेर्दा यो कुनै सामान्य प्राविधिक समस्या मात्र नभएको स्पष्ट भइसकेको थियो ।

तर सबैभन्दा निर्णायक क्षण त्यसपछि आयो । गम्भीर रूपमा घाइते भइसकेका कप्तान स्मित मच्छारले ककपिटको ढोका खोल्न सफल भए । उनी रगतले लतपतिएर ककपिटको भुइँमा ढलेका थिए । तर, त्यस्तै जटिल अवस्थामा पनि उनले साहस जुटाएर ककपिटको ढोका खोल्ने संयन्त्र चलाए । ढोका खुल्नासाथ यात्रु र चालक दलका अन्य सदस्यहरू ककपिटभित्र प्रवेश गर्न पाए ।

ककपिटभित्र पुगेपछि उनीहरूले आक्रमणकारी को–पाइलटलाई नियन्त्रणमा लिन सफल भए । यात्रुहरूमध्ये केही अगाडि बढेर उनलाई समात्न सहयोग गरे भने चालक दलका सदस्यहरू पनि उत्तिकै सक्रियताका साथ खटिए । एक यात्रुका अनुसार विमानको अघिल्लो भागमा ठूलो हल्लाखल्ला देखेकाले उनीहरू ककपिटतर्फ पुगेका थिए ।

संयोगवश, त्यही विमानमा फ्लाई दुबईकै दुई जना अफ–ड्युटी पाइलटहरू पनि यात्रुका रूपमा सवार थिए । ककपिटको सङ्कटपछि उनीहरूले तुरुन्तै विमानको नियन्त्रण सम्हाल्न सहयोग गरे । त्यसपछि विमानलाई तोकिएको गन्तव्य तेल अभिभ लैजानुको सट्टा साउदी अरेबियाको तबुकतर्फ मोडियो ।

त्यतिबेला विमानको अवस्था निकै भयावह र तनावपूर्ण थियो । ककपिटमा भएको हिंसा, घाइते मुख्य पाइलट, नियन्त्रणमा लिइएका को–पाइलट अनि तीव्र रूपमा बदलिएको उडान मार्गका बीच विमान तबुकतर्फ अघि बढ्यो । तुरुन्तै त्यहाँको विमानस्थलसँग आपत्कालीन अवतरणका लागि अनुमति मागियो र तबुकका एयर ट्राफिक कन्ट्रोलरले पनि समन्वय गरे ।

अन्ततः विमान साउदी अरेबियाको तबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भयो । सौभाग्यवश, सबै यात्रुहरू सकुशल रहे । आक्रमणमा गम्भीर घाइते भएका कप्तान स्मित मच्छारलाई तत्काल उपचारका लागि अस्पताल लगियो भने आक्रमणकारी को–पाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन् ।

तबुकमा विमान अवतरण भएपछि यात्रुहरूलाई फ्लाई दुबईकै अर्को विमानमार्फत तेल अभिभ पठाइयो । घण्टौँको मानसिक तनावपछि उनीहरू अन्ततः इजरायलको बेन गुरियन विमानस्थल पुगे । यात्रुहरूले त्यस अवधिलाई जीवनकै सबैभन्दा डरलाग्दो र अविश्वसनीय घटनाका रूपमा वर्णन गरेका छन् ।

अब प्रश्न उठ्छ– आखिर ककपिटभित्र यो सब किन भयो ? को–पाइलटले किन क्याप्टेनमाथि साङ्घातिक आक्रमण गरे ? उनको उद्देश्य के थियो ? यो विमानलाई दुर्घटनाग्रस्त गराउने नियत थियो कि अन्य कुनै कारण ? यी प्रश्नहरूको उत्तर अझै आइसकेको छैन । इजरायली अधिकारीहरूले ती को–पाइलट ओमानी नागरिक भएको बताएका छन्, तर उनको पूर्ण परिचय र आक्रमणको वास्तविक कारणबारे अनुसन्धान जारी छ । फ्लाई दुबईले पनि घटनाको कारणबारे समयअगावै कुनै अड्कलबाजी नगर्न आग्रह गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई गम्भीर सुरक्षा घटना भन्दै कप्तान स्मित मच्छारको अदम्य साहसको उच्च प्रशंसा गरेका छन् । गम्भीर घाइते अवस्थामा पनि ककपिटको ढोका खोलेर यात्रु र चालक दललाई प्रवेश गर्न दिने मच्छारको निर्णयले नै ठूलो दुर्घटना टरेको नेतन्याहूको भनाइ छ । यद्यपि, यस घटनालाई ‘जिहादी आतङ्कवादी हमला’ वा विमान खसाल्ने नियोजित प्रयासका रूपमा गरिएका केही राजनीतिक दाबीहरूको पुष्टि हुन भने बाँकी नै छ । त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि क्याप्टेन मच्छारको खुलेर प्रशंसा गरेका छन् । ट्रम्प र मोदी दुवैले मच्छारलाई वास्तविक ‘हिरो’ को संज्ञा दिँदै सङ्कटका बेला उनले देखाएको अदम्य साहसको सराहना गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अब ती साहसी पाइलट को हुन् त ? त्यसबारे पनि थोरै चर्चा गरौँ । ’टाइम्स अफ इन्डिया’का अनुसार स्मित मच्छार भारतको महाराष्ट्र राज्यस्थित मुम्बईको घाटकोपरका बासिन्दा हुन् । उनी भारतका एक अनुभवी व्यावसायिक पाइलट हुन् । सार्वजनिक व्यावसायिक विवरण तथा भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी लामो समयदेखि उडान क्षेत्रमा सक्रिय छन् ।

मच्छारले आफ्नो व्यावसायिक उडान यात्रा सन् २०११ मा स्पाइसजेटबाट सुरु गरेका थिए र त्यहाँ करिब ११ वर्ष सेवा गरे । त्यस अवधिमा उनी सिनियर क्याप्टेनको पदसम्म पुगेका थिए । सन् २०२० नोभेम्बरदेखि उनले ‘लाइन ट्रेनिङ क्याप्टेन’को जिम्मेवारी सम्हालेका थिए, जसअन्तर्गत अन्य पाइलटहरूलाई तालिम दिने, उनीहरूको उडान क्षमताको मूल्याङ्कन गर्ने र सुरक्षा मापदण्ड पालना गराउने जिम्मेवारी हुन्थ्यो ।

सन् २०२२ जुनमा उनी ‘फ्लाई दुबई’मा’ डाइरेक्ट इन्ट्री क्याप्टेन’का रूपमा आबद्ध भए । अर्थात्, उनी जुनियरका रूपमा नभई आफ्नो अघिल्लो कमान्ड अनुभवका आधारमा सीधै क्याप्टेनको पदमा नियुक्त भएका थिए । उनीसँग बोइङ ७३७–८०० र ७३७ म्याक्स विमानमा करिब ९ हजार ७५० घण्टा उडान भरेको अनुभव छ । त्यसमध्ये स्पाइसजेटमै उनले ६ हजार ४०० घण्टाभन्दा बढी ‘पाइलट–इन–कमान्ड’का रूपमा उडान गरेका थिए । आपत्कालीन अवतरणपछि तबुकस्थित अस्पतालमा उनको शल्यक्रिया गरिएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।

यस घटनाको सबैभन्दा ठूलो पाठ भनेकै सङ्कटका ती निर्णायक केही सेकेन्डहरू हुन् । विमान हजारौँ फिटको उचाइमा थियो । ककपिटमा दुई पाइलटबीच नै जीवन–मरणको सङ्घर्ष चलिरहेको थियो । मुख्य पाइलट गम्भीर घाइते भइसकेका थिए र विमान तीव्र गतिमा उचाइ गुमाउँदै तल खसिरहेको थियो । तर, त्यस्तै भयावह अवस्थामा पनि क्याप्टेन मच्छारले ककपिटको ढोका खोल्न सफल भए । यात्रु र चालक दलका अन्य सदस्यहरू तुरुन्तै ककपिट पुगे, आक्रमणकारीलाई नियन्त्रणमा लिइयो । र, विमानमा सवार अरु पाइलटहरूले कमान्ड सम्हाले ।

अर्थात्, यो केवल एउटा विमानभित्र भएको झडपको सामान्य कथा मात्र होइन । यो त अति सङ्कटपूर्ण केही मिनेटमा लिइएका साहसी निर्णय, संयम र अभूतपूर्व समन्वयको कथा हो । एउटा सामान्य त्रुटि वा ढिलाइले १७४ जनाको ज्यान जोखिममा पर्न सक्थ्यो । तर, त्यही महासङ्कटमा लिइएका सही निर्णयहरूले विमानलाई सुरक्षित रूपमा जमिनमा ओराल्यो । फ्लाई दुबईको त्यो उडान तोकिएको गन्तव्य तेल अभिभ त पुग्न सकेन, तर १७४ जनाकै अमूल्य जीवन बोकेर तबुकमा सुरक्षित अवतरण भयो ।

यसरी १७४ जनाको ज्यान नै जोखिममा पार्ने आक्रमणकारी अहिले कानुनी फन्दामा परिसकेका छन् भने, आफ्नै ज्यानको बाजी लगाएर ठूलो दुर्घटना टार्ने कप्तान स्मित मच्छार र संकटको घडीमा साहस देखाउने यात्रुहरू विश्वभर चर्चामा छन् । तर, ककपिटभित्र कप्तानमाथि नै साङ्घातिक आक्रमण गर्नुको वास्तविक उद्देश्य के थियो ? यो व्यक्तिगत वैमनस्यता थियो, आवेगमा गरिएको आक्रमण थियो वा कुनै संगठित षड्यन्त्र ? यसको यकिन जवाफ भने अनुसन्धान पूरा भएपछि मात्रै खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्