Logo
Logo

खेलको बिचैमा रोनाल्डोले छाडे क्याम्प, पोर्चुगलमा हलचल, प्रशिक्षकसँग के भयो ?


441
Shares

रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प नै छाडिदिएका छन् । त्यो पनि प्रशिक्षक जोर्जे जेसुसले डेनमार्कविरुद्ध सुरुआती ११ मा नराख्ने घोषणा गरेलगत्तै । क्याम्प छाड्दै रोनाल्डोले भनेका छन्– समय आएपछि सत्य बताउनेछु । आखिर रोनाल्डो किन यति आक्रोशित भए ? के यो केवल बेन्चमा राखिएपछिको असन्तुष्टि मात्र हो, कि प्रशिक्षकसँगको विवाद क्याम्प नै छाड्नुपर्ने अवस्थासम्म पुगेको हो ? एउटा लेजेन्ड मेस्सीको भव्य बिदाइको तयारी भइरहँदा अर्का लेजेन्ड रोनाल्डोले किन हुनुप¥यो अपमानित रु आउनुहोस्, रोनाल्डोले क्याम्प छाड्नुको भित्री कारणको विस्तृत चर्चा गरौँ ।

फुटबलको एउटा युग सकिँदै छ– मेस्सी र रोनाल्डो युग । तर, युग सकिँदै गर्दा यी लेजेण्डको बिदाइको कथा भने भिन्न छ ! एकातिर लियोनल मेस्सी छन्, अर्जेन्टिनाको जर्सीमा उनको अन्तिम बिदाइ भव्य बनाउने तयारी भइरहेको छ । अर्कोतिर क्रिस्टियानो रोनाल्डो छन्, उनी अझै राष्ट्रिय टोलीबाट अलग्गिन चाहिरहेका छैनन् । उनलाई अझै गोल गर्नु छ, अझै देशका लागि खेल्नुछ, अझै मैदानमा आफूलाई प्रमाणित गर्नु छ । तर, यही अन्तिम मोडमा रोनाल्डोको राष्ट्रिय टोलीसँगको सम्बन्धमा अनपेक्षित दरार देखिएको छ ।

रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प नै छाडेका छन् । जारी युइएफए   नेसन्स लिगमा नर्वेविरुद्धको खेलमा रोनाल्डो पूरै समय बेन्चमा बस्नुप¥यो । उनलाई एक मिनेट पनि खेल्न दिइएन । तर, रोनाल्डो नखेले पनि नतिजा भने पोर्चुगलकै पोल्टामा गयो । पोर्चुगलले नर्वेलाई २–१ गोलले हरायो । तर, जितभन्दा बढी चर्चा भयो– रोनाल्डो किन खेलेनन् ?

रोनाल्डो मैदानमा नउत्रिए पनि उनले केही समय वार्मअप भने गरिरहेका थिए । तर, अन्ततः प्रशिक्षक जोर्जे जेसुसले उनलाई मैदानमा पठाएनन् । जेसुसले पछि स्वीकारे– रोनाल्डो त्यसमा खुसी थिएनन् । कुनै पनि खेलाडी लामो समय वार्मअप गरेर पनि मैदान प्रवेश गर्न नपाउँदा निराश हुनु स्वाभाविक भएको उनको भनाइ थियो ।

तर, समस्या त्यतिमै रोकिएन । डेनमार्कविरुद्धको अर्को खेल आउँदै थियो । सबैको नजर रोनाल्डो खेल्छन् कि खेल्दैनन् भन्नेमा थियो । अनि प्रशिक्षक जेसुसले पत्रकार सम्मेलनमा भनिदिए– रोनाल्डो सुरुवाती ११ मा हुने छैनन् । गोन्कालो रामोसले सुरुवात गर्नेछन्, रोनाल्डो आवश्यक परे मात्र मैदानमा आउनेछन् ।

यही घोषणापछि घटनाले अर्को मोड लियो । रोनाल्डोले पोर्चुगलको क्याम्प नै छाडे । रोनाल्डोको यो निर्णय प्रशिक्षक जोर्जे जेसुससँगको असमझदारीको चर्चाबीच आएको हो । क्याम्प छाड्नुको कारण भने उनले ‘समय आएपछि’ सार्वजनिक गर्ने बताएका छन् । पोर्चुगल फुटबल महासङ्घका अध्यक्षसँग कुराकानी गरेपछि मात्र आफू क्याम्प छाड्ने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन् ।

रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका छन्– ‘राष्ट्रिय टोलीको पत्रकार सम्मेलनपछि र पोर्चुगल फुटबल महासङ्घका अध्यक्षसँगको कुराकानीपछि मैले प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेको छु । समय आएपछि म किन क्याम्प छाड्ने निर्णयमा पुगेँ भन्ने सम्पूर्ण सत्य पोर्चुगलका जनतालाई बताउनेछु ।’

अब प्रश्न उठ्छ– रोनाल्डोले किन छाडे क्याम्प रु के यो केवल एउटा खेलमा बेन्चमा राखिएकै कारण लिइएको निर्णय हो त ? सायद होइन । किनकि रोनाल्डो सामान्य खेलाडी होइनन् । उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्, सर्वाधिक खेल जित्ने खेलाडी हुन् र पाँच पटकका बालोन डि’ओर विजेता हुन् । ४१ वर्षको उमेरमा पनि उनले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छैनन् । उल्टै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो यात्रा जारी राख्ने संकेत दिएका छन् । करियरको १ हजार गोलको ऐतिहासिक लक्ष्य पनि उनको सामु छ ।

त्यसैले यहाँ विवाद केवल ‘रोनाल्डो खेल्ने कि नखेल्ने’ भन्ने मात्र होइन । रोनाल्डोजस्ता दिग्गज खेलाडीलाई प्रशिक्षकले कसरी व्यवस्थापन गर्ने भन्ने हो । प्रशिक्षक जोर्जे जेसुसको भनाइ स्पष्ट छ– टोलीमा नियम सबैका लागि एउटै हुन्छ । नाम ठूलो हुँदैमा प्रशिक्षकको निर्णय बदलिँदैन । रोनाल्डोले पनि अरू खेलाडीझैँ प्रदर्शनका आधारमा टोलीमा स्थान बनाउनुपर्छ । निर्णय प्रशिक्षकले गर्ने हो, खेलाडीले होइन ।

यो कुरा फुटबलको सामान्य सिद्धान्त हो । तर, फुटबलमा सिद्धान्त र व्यवहार सधैँ एउटै हुँदैन । किनकि यहाँ प्रशिक्षकले विश्व फुटबलकै सबैभन्दा ठूलो नाममध्ये एकलाई बेन्चमा राख्दै छन्– त्यो पनि त्यही खेलाडीलाई, जसले वर्षौँसम्म पोर्चुगलको जर्सीको पहिचान र अर्थ नै बदलिदिएका छन् ।

अझ अर्को संयोग पनि छ– जोर्जे जेसुस र रोनाल्डो एकअर्काका लागि अपरिचित होइनन् । जेसुसले रोनाल्डोलाई अल नासरमा पनि प्रशिक्षण दिइसकेका छन् । अहिले उनी पोर्चुगलको राष्ट्रिय टोली सम्हाल्न आएका छन् । त्यसैले दुवैबीचको सम्बन्ध नयाँ होइन । तर, क्लब र राष्ट्रिय टोलीको ड्रेसिङ रुम एउटै कुरा होइन ।

क्लमा प्रशिक्षकले खेलाडीलाई बेन्चमा राख्दा कुरा क्लबभित्रै सीमित रहन सक्छ । तर, राष्ट्रिय टोलीमा रोनाल्डो बेन्चमा बस्दा त्यो देशको कुरा आउँछ । रोनाल्डो मैदानमा नउत्रिँदा त्यो रणनीतिक निर्णय मात्र रहँदैन, राष्ट्रिय बहस बन्छ । अहिले भएको पनि त्यही हो ।

नर्वेविरुद्धको खेल सकिएलगत्तै रोनाल्डो आफ्ना समर्थकसँग अभिवादन गर्न पनि गएनन् । यसले शंका झनै बढायो । पोर्चुगिज सञ्चारमाध्यममा प्रशिक्षक र खेलाडीबीच चिसोपन आएको व्यापक चर्चा चल्यो । तर, जेसुसले विवादको कुरा निरन्तर अस्वीकार गर्दै आए । 

उनले रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको दाबी गर्दै आएका छन् । रोनाल्डोले केही शारीरिक अभ्यास व्यक्तिगत रूपमा गरेका थिए । नर्वेविरुद्ध लामो समय वार्मअप गराएर पनि मैदानमा नपठाउनु चाहिँ प्रशिक्षकको निर्णय थियो । जेसुसले त्यो निर्णयले रोनाल्डो निराश भएको स्वीकार गरे पनि आफूले कुनै गल्ती गरेको मानेका छैनन् ।

विवाद यहीँबाट झन् गहिरिएको देखिन्छ । एकातिर प्रशिक्षकको अडान– “निर्णय गर्ने मैले हो”, अर्कोतिर रोनाल्डो भन्छन्– “म क्याम्पमै बस्दिनँ।” तर, सबैभन्दा महत्त्वपूर्ण कुरा रोनाल्डोको त्यो भनाइ थियो, जहाँ उनले भनेका छन्– “समय आएपछि पोर्चुगलका जनतालाई आफूले क्याम्प छाड्नुको ‘सत्य’ बताउनेछु ।” बस्, यही एउटा वाक्यले घटनालाई सामान्य बेन्च विवादबाट ठूलो प्रश्नमा बदलिदिएको छ । यदि कुनै विवाद थिएन भने ‘सत्य पछि बताउँछु’ किन भन्नुपथ्र्यो रु यदि सबै कुरा सामान्य थियो भने क्याम्प नै छाड्नुपर्ने अवस्था किन आयो ?

अनि, यदि प्रशिक्षकले भनेझैँ यो सामान्य खेल रणनीति मात्रै थियो भने रोनाल्डोले पोर्चुगल फुटबल महासङ्घका अध्यक्षसँग छुट्टै कुराकानी किन गर्नुप¥यो ? यी प्रश्नहरूको उत्तर अहिले बाहिर आइसकेको छैन ।

तथ्य के हो भने रोनाल्डो नर्वेविरुद्ध पूरै समय बेन्चमा बसे । जेसुसले डेनमार्कविरुद्ध पनि उनलाई सुरुवाती ११ मा नराख्ने स्पष्ट पारे । त्यसपछि रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडे । पोर्चुगिज महासङ्घले पनि उनी क्याम्पबाट बाहिरिएको पुष्टि गरेको छ । त्यसपछि रोनाल्डोका समर्थकहरू प्रशिक्षक जेसुसप्रति आक्रोशित बनेका छन् र उनलाई पदबाटै हटाउनुपर्ने मागसमेत गर्न थालेका छन् ।

रोनाल्डोका समर्थक आक्रोशित हुनु स्वाभाविकै पनि हो । दुई दशक उनले पोर्चुगलको फुटबललाई आफ्नै काँधमा बोकेर अघि बढाए । रोनाल्डोले आफ्नो देशलाई विश्वकपको ट्रफी दिलाउन नसके पनि, पोर्चुगलका लागि उनले दिएको योगदान सायदै अरू कुनै खेलाडीले दिएका होलान् ।

रोनाल्डोको योगदानलाई कुनै पनि फुटबल प्रशंसकले भुल्न सक्दैन र भुल्नु पनि हुँदैन । तर, यसो भनिरहँदा उमेरका कारण उनको खेलमा परेको प्रभावलाई पनि नजरअन्दाज गर्न सकिँदैन । विश्वकपमा उनको प्रदर्शन र पछिल्ला खेलहरूमा पहिलेको जस्तो प्रभाव देखिन छाडेको छ ।

पोर्चुगलकै राष्ट्रिय टोलीका केही पूर्व वा वर्तमान खेलाडीहरूले समेत अब रोनाल्डोविनाको टोलीको सोच बनाउनुपर्ने र उनले सन्यास लिँदा नै राम्रो हुने बताउन थालेका छन् । तर, रोनाल्डोको जुन विशाल समर्थक वर्ग छ, त्यसैले गर्दा पोर्चुगल फुटबल महासङ्घले पनि उनलाई सहजै टोलीबाहिर राख्न सकेको छैन । यता रोनाल्डोले भने देशले ’अब पुग्यो’ नभनेसम्म सन्यास नलिने अडान कायमै राखेका छन् ।

तर, क्याम्प नै छाडेपछि के रोनाल्डो राष्ट्रिय टोलीबाट बाहिरिएकै हुन् त ? यो प्रश्न पनि उब्जिएको छ । यद्यपि, त्यो अझै निश्चित भइसकेको छैन । रोनाल्डोले राष्ट्रिय टोलीबाट स्थायी संन्यासको घोषणा गरेका छैनन्, उल्टै आफ्नो अन्तर्राष्ट्रिय यात्रा जारी राख्न चाहन्छन् भन्ने संकेत उनले यसअघि नै दिइसकेका छन् ।

त्यसैले, अहिले क्याम्प छाड्नु र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु एउटै कुरा होइन । तर, घटना सामान्य भने पक्कै छैन । किनकि करियरको अन्तिम मोडमा पुगेका रोनाल्डो अहिले एउटा अनौठो दोबाटोमा उभिएका छन् ।

उता मेस्सीको बिदाइलाई भावुक र भव्य बनाउने तयारी गरिँदै छ भने यता रोनाल्डोको बिदाइको कथा बेन्च, प्रशिक्षकसँगको मतभेद र क्याम्प छाड्ने घटनाले घेरिँदै छ । एकातिर अन्तिम अध्यायलाई उत्सव बनाउने तयारी, अर्कोतिर विवादको साङ्लो ! फुटबलका यी दुई महान् प्रतिद्वन्द्वीको करियरले अन्तिम मोड लिँदै गर्दा कथा यति फरक होला भनेर सायद कसैले सोचेका थिएनन् । तर, रोनाल्डो अझै सकिएका छैनन् ।

उनको जर्सीमा अझै पोर्चुगलको झण्डा छ । उनका लक्ष्यहरू अझै बाँकी छन्, गोलको सङ्ख्या अझै बढाउने हुटहुटी छ । तर, अब उनको अगाडि अर्को चुनौती थपिएको छ– मैदानमा विपक्षीसँग मात्र होइन, आफ्नै टोलीभित्रको भूमिकासँग जुध्नुपर्नेछ । किनकि रोनाल्डोका लागि सबैभन्दा कठिन प्रश्न अब उनी गोल गर्न सक्छन् कि सक्दैनन् भन्ने रहेन ।

मुख्य प्रश्न त यो हो, उनलाई अझै मैदानको सर्वोपरि नायककै रूपमा हेर्ने कि टोलीको अन्य साधारण खेलाडीझैँ रु प्रशिक्षक जोर्जे जेसुसले दोस्रो बाटो रोजेको देखिन्छ । रोनाल्डोले त्यसलाई कत्तिको स्वीकार गर्छन्, त्यो भने आगामी दिनले नै देखाउनेछ ।

अहिलेका लागि एउटा कुरा मात्र स्पष्ट छ-रोनाल्डोले पोर्चुगलको जर्सी फुकालेका छैनन्, तर पोर्चुगलको क्याम्पको ढोका खोलेर बाहिर भने निस्किएका छन् । अनि बाहिरिँदा उनले एउटा वाक्य छाडेका छन्-“समय आएपछि सत्य बताउनेछु।” अब सिङ्गो फुटबल संसार त्यही ‘सत्य’ सुन्न पर्खिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्