Logo
Logo

सरकार जनताका प्रश्नको जवाफ दिन चुक्यो : ध्रुवराज राई


126
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दा बल्दा प्रश्नहरूको उत्तर दिन चुकेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताएका हुन् ।

The current image has no alternative text. The file name is: dhurb-rai.jpg

उनले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरे । सांसद राईले संसद्को यो अधिवेशनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले प्रतिपक्षले उठाउँदै आएका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरेका हुन् । राजनीतिशास्त्रको विद्यार्थीको हैसियतले ऐतिहासिक सन्दर्भ कोट्याउँदै राईले १५ साल र ६४ सालको चुनावी नतिजासँग तुलना गर्दै वर्तमान सत्ता समीकरणप्रति व्यङ्ग्य गरेका हुन् । उनले सत्ता जोगाउनकै लागि मात्र केन्द्रित नभई ५ वर्ष सरकार सञ्चालन गर्न र सुशासन कायम गर्न सत्तापक्षलाई आग्रह गरे ।

 उनले भने, ‘हामीले जनताका धेरै प्रश्नहरू सदनमा उठायौँ, तर सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट त्यसको जवाफ दिन सक्नुभएन । आज म जनताको घर–आँगनमा फर्किँदा रित्तो हात फर्किँदै छु । सत्ताको अंकगणितमा दुई तिहाइको नजिक देखिए पनि जनताको म्यान्डेट र विपक्षमा रहेको जनमतको हेक्का राख्नुपर्छ । भ्रष्टाचार र जनअपेक्षा विपरितका गतिविधिले विगतमा घरहरू जलेका थिए, अब हामीले आफ्नो घर जोगाउन मुस्किल पर्ने अवस्था नआओस् ।’

उनले भ्रष्टाचार र दलहरूको कार्यशैलीका कारण विगतमा देखिएका आन्दोलन र विद्रोहबाट शिक्षा लिन पनि सरकारलाई सचेत गराए । उनले अर्को अधिवेशनमा सरकारले प्रतिपक्षको मागलाई अपमान नभई सम्मानपूर्वक लिने वातावरण बनाउन सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराए । सरकारलाई आफ्नो खुट्टामा आफैँ बञ्चरो नहान्न र सरकार आफैँ नढाल्न शुभकामना दिए । 
 

प्रतिक्रिया दिनुहोस्