काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ३ हजार ५०६ प्रहरी परिचालन गर्ने गरी विशेष सुरक्षा योजना लागू गरेको छ।

शुक्रबारदेखि सुरु भएर कात्तिक ३० गतेसम्म ४५ दिन लागू हुने सुरक्षा योजनाले राजधानीको शान्ति–सुरक्षा थप सुदृढ बनाउने तथा सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य लिएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापा र एसएसपी दिलीप घिमिरेले विगतका वर्षमा भएका अपराधको विश्लेषण तथा सुरक्षा जोखिमलाई आधार बनाएर यस वर्षको योजना तयार पारिएको जानकारी दिए।
चाडपर्वका समयमा घर खाली हुने, बजारमा भीडभाड बढ्ने तथा मानिसहरूको आवतजावत बढ्ने भएकाले चोरी, लुटपाट, ठगी र सवारी दुर्घटनालगायतका घटना हुनसक्ने जोखिमलाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत काठमाडौंका मुख्य बजार, बसपार्क तथा संवेदनशील क्षेत्रमा ३ हजार ५०६ प्रहरी परिचालन गरिनेछ। प्रहरीले नागरिक सहायता कक्ष तथा हेल्प डेस्क स्थापना गर्ने, सीसीटीभीमार्फत निरन्तर निगरानी गर्ने र टिकट काउन्टरमा हुने ठगी तथा सार्वजनिक सवारीसाधनमा हुने ओभरलोड नियन्त्रणमा विशेष ध्यान दिने जनाएको छ।
प्रहरी उपरीक्षक थापाले सम्भावित आपराधिक घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए।
उनका अनुसार बडादशैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउनु योजनाको मुख्य उद्देश्य हो। योजनाअन्तर्गत ३ हजार ५०६ प्रहरी जनशक्ति परिचालन गरिनेछ।
‘दशैँ कसैका लागि दशा नबनोस्’ भन्ने मूल मर्मका साथ लागू गरिएको योजनामार्फत समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतना अभिवृद्धि गरिने एसएसपी घिमिरेले बताए। उनले शान्ति–सुव्यवस्था कायम गर्दै प्रहरी र नागरिकबीचको विश्वास थप बलियो बनाउने उद्देश्य रहेको बताए।
चाडपर्वका बेला नागरिकहरू घर फर्किने तथा बजारमा अत्यधिक चहलपहल हुने भएकाले त्यसको फाइदा उठाउँदै आपराधिक समूह सक्रिय हुनसक्ने भन्दै प्रहरीले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
विगतका घटनाको ‘क्राइम प्याटर्न एनालाइसिस’ गरी यस वर्ष प्रविधिमैत्री र परिस्कृत सुरक्षा रणनीति तयार गरिएको प्रहरीले जनाएको छ। विशेषगरी चोरी, लुटपाट, जुवातास तथा सडक दुर्घटना नियन्त्रणमा प्रहरीले निगरानी बढाउनेछ।
सवारीसाधनमा हुने ठगी र ओभरलोडका कारण हुनसक्ने दुर्घटना रोक्न विभिन्न स्थानमा हेल्प डेस्क तथा नागरिक सहायता कक्ष स्थापना गरिनेछ। साथै, सीसीटीभीमार्फत निगरानी बढाउनुका साथै भीडभाड हुने स्थानमा प्रहरी परिचालन व्यापक बनाइने प्रहरीले जनाएको छ।













