Logo
Logo

हिजो राणा ढाल्यो, आज आफैं ढल्मलायो (भिडियो)


0
Shares

काठमाडौं । नेपालका राजनीतिक दलहरूमध्ये सबैभन्दा ‘बुढो’ पार्टी हो, कांग्रेस । आधुनिक नेपालको राजनीतिक परिवर्तनको ठूलो हिस्सा यसैको इतिहाससँग जोडिएको छ । राणाविरुद्धको संघर्षदेखि गणतन्त्रसम्म, संविधान निर्माणदेखि अहिलेको ‘जेनजी’ विद्रोहसम्म आइपुग्दा कांग्रेस धेरै पटक परिवर्तनको सारथी बन्यो । ८० वर्षे लामो यो यात्रामा कांग्रेसलाई कहिले जनताले शिखरमा पु¥यायो त कहिले रछ्यानै पु¥यायो ।

कांग्रेसको वैचारिक जग २००३ सालमै बस्यो । बीपी कोइराला लगायतका नेताले नेपाली राष्ट्रिय कांग्रेस बनाए । उता २००५ सालमा सुवर्णशमशेरहरूको पहलमा प्रजातन्त्र कांग्रेस बन्यो । २००६ सालमा यी दुई मिलेर बनेको नेपाली कांग्रेसले राणा शासन ढालेर जनताको शासन ल्याउने अठोट ग¥यो ।

२००७ सालको क्रान्ति कांग्रेसको पहिलो ठूलो परीक्षा थियो, जसमा उनीहरू पास भए । राणा शासन ढल्यो । २०१५ सालको चुनावमा दुईतिहाइ ल्याएर बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । तर, २००७ देखि २०१५ सालसम्म कांग्रेसभित्रै किचलो सुरु भइसकेको थियो । दाजुभाइ मातृकाप्रसाद र बीपीबीचको टकराबले २०१० सालमै पार्टी फुट्यो । मातृकाले नयाँ पार्टी नै खोले ।

बीपीले सत्ता सम्हालेको केही समयमै राजनीतिले निरंकुशताको बाटो समात्यो । २०१७ पुस १ मा राजा महेन्द्रले सरकार र संसद् दुवै फालेर दलहरूमाथि प्रतिबन्ध लगाए । २०४६ सालको आन्दोलनमा कांग्रेस र वामपन्थी मिले । गणेशमान सिंह कमान्डर बने, पञ्चायत ढल्यो । तर, कृष्णप्रसाद भट्टराई, गणेशमान र गिरिजाप्रसादबीचको अन्तरविरोध झन् चर्कियो ।

२०४८ मा बहुमत ल्याएर गिरिजाप्रसाद प्रधानमन्त्री बने । तर, कांग्रेसको चरित्र फेरिएन । हिजो सडकमा लडेको पार्टी सत्तामा पुग्नेबित्तिकै गुटबन्दी, मन्त्री पदको तानातान, राजनीतिक नियुक्ति र आर्थिक दोहनमा फस्यो ।

बहुमतको सरकार ५ वर्ष टिकेन । आफ्नै सांसदले सरकार ढाले । तीन वर्षमै मध्यावधि निर्वाचन गनुप¥यो । २०५१ को चुनावमा कांग्रेस दोस्रो दलमा खुम्चियो । जनताले दिएको म्यान्डेटभन्दा पार्टीभित्रको झगडा ठूलो भयो भने के हुन्छ ? कांग्रेसले सिकाएको पाठ यही हो ।

२०५६ मा फेरि बहुमत आयो, तर गिरिजा समूहले भट्टराईलाई टिक्न दिएन । त्यसपछि सुरु भयो, गिरिजा र देउवाको सिधा टक्कर । जसले २०५९ सालमा पार्टी नै फुटायो । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला देउवा प्रधानमन्त्री थिए, तर संसद् विघटन र संकटकालको विषयमा कुरा नमिल्दा उनले छुट्टै ‘नेपाली कांग्रेस प्रजातान्त्रिक’ खोले । यसले अस्थिर राजनीतिलाई झन् गिजोल्यो, अन्ततः राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरू भयो । लोकतन्त्रका लागि लडेको पार्टी आफैं लोकतान्त्रिक हुन नसक्दा कसरी दुर्घटना हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण थियो ।

कांग्रेसभित्र आपसमा कुरा नमिल्ने आन्तरिक किचलो पुरानै भए पनि सङ्कटका बेला निर्णय लिने इतिहास छ । गिरिजाप्रसाद कोइराला २०६२/६३ को जनान्दोलन, १२ बुँदे समझदारी र गणतन्त्रको सङ्क्रमणकालीन राजनीतिमा निर्णायक बने । हिजो राजतन्त्रविरुद्ध लडेको कांग्रेस, माओवादीसँग मिलेर राजतन्त्र नै फाल्ने विन्दुमा पुग्यो । यो उसको ठूलो वैचारिक छलाङ थियो ।

२०७२ मा सुशील कोइरालाको नेतृत्वमा संविधान जारी हुनु अर्को ऐतिहासिक क्षण थियो । तर, संविधान बनाएको पार्टी यसको कार्यान्वयनमा भने चुक्यो । देश सङ्घीयतामा गयो, तर कांग्रेसको संरचना पुरानै रह्यो ।

त्यसपछि आए– शेरबहादुर देउवा । पाँच पटक प्रधानमन्त्री र दुई पटक सभापति बनेका देउवाको कहिले माओवादी त कहिले एमालेसँग मिलेर सत्तामै टाँसिरहने शैलीले पार्टीभित्र र बाहिर सबैलाई वाक्कदिक्क बनायो । छैटौँ पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवाको त्यो सपना गत वर्षको ‘जेन–जी’ आन्दोलनका कारण पूरा हुन पाएन । त्यति मात्र होइन, उनले जेन–जी विद्रोहको मर्मलाई बुझ्न सकेनन् । उनले पुस्तान्तरण र रूपान्तरणका कुरालाई बेवास्ता गरे । अन्ततः विशेष महाधिवेशनले उनलाई सभापतिबाटै हटायो । तर, देउवा अझै त्यो फैसला मान्न तयार छैनन् । अहिले देउवा समूह समानान्तर महाधिवेशनमा होमिएको छ । देउवा समूहले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म महाधिवेशनको मिति तय गरेको छ । यता, संस्थापन पक्षले भने यही असोज १८ गते काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशनको उद्घाटन गर्दै छ ।

कांग्रेस अहिले दुई ध्रुवमा विभाजित भएपनि जनताले आशा गरेको चाहिँ गगन–विश्वप्रकाशकै जोडीलाई हो । कांग्रेसको नेतृत्व पनि यिनै दुई भाइको काँधमा आइपुगेको छ । कांग्रेसका शेखर, शशाङ्क र प्रकाशमानहरू ‘फेज–आउट’ भएका छन् । उनीहरूलाई पार्टीका नेता–कार्यकर्ताले पत्याए पनि जनताले पत्याउने स्थिति छैन । अनि राजनीतिमा आफ्ना नेता–कार्यकर्ताले मात्रै पत्याएर पुग्दैन, जनताले पनि अनुमोदन गर्नुपर्छ । तर, गगन–विश्वप्रकाशको अगाडि फूलको होइन, काँडैकाँडाको बाटो छ । बीपीले प्रजातन्त्रको बाटो देखाए, गणेशमानले कम्युनिस्टलाई साथै लिएर पञ्चायत ढाले, गिरिजाले राजतन्त्रलाई चिहानमा पु¥याएर गणतन्त्र ल्याए, सुशीलले संविधान दिए, र देउवाले कांग्रेसलाई सत्ता–शक्तिको पर्याय बनाए । अब गगनले के गर्छन् ? अहिलेको सबैभन्दा ठूलो प्रश्न यही हो ।

गगन आफैँमा पुस्तान्तरणका प्रतीक हुन्, तर के उनको आगमनले मात्र कांग्रेसको ‘डीएनए’ बदलिन्छ ? सङ्गठनको भद्दापन, आर्थिक अपारदर्शिता, जरा गाडेको गुट संस्कृति र जनतासँग टुटेको सम्बन्धलाई उनले कसरी जोड्छन् ? देशको राजनीतिमा हिजोको इतिहास बेचेर खाने दिन अब सकिए, किनकि जेनजी पुस्ताले डेलिभरी खोजिरहेको छ । यदि गगनले यो बुढो पार्टीको बुढै किचलोलाई जरैबाट फाल्न सकेनन् र पुरानै नेताहरूको छायामा रुमल्लिए भने, इतिहासले उनलाई केवल एउटा राम्रो वक्ताका रूपमा मात्र सम्झिनेछ ।

कांग्रेसको असली परीक्षा अब सभापतिको कुर्सीमा होइन, कांग्रेस कति बदलिन्छ भन्ने कुरामा हुनेछ । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जेन–जी विद्रोहको आँधीले कांग्रेस मात्र होइन, पुराना सबै पार्टी बढारेर लग्यो । त्यसबेला गगन कांग्रेसको नेतृत्वमा आएको दुई महिना पनि नभई चुनावमा जानुपरेको थियो । जसले गर्दा आवश्यक तयारी पनि राम्रोसँग गर्न पाएनन् । तर, अब प्रदेश र स्थानीय तहको निर्वाचन आउँदै छ । सोही निर्वाचनमा गगनको असली परीक्षा हुनेछ । त्यसैले, ८० वर्षको इतिहास बोकेको कांग्रेसले पुरानै किचलो बोकिरहन्छ कि नयाँ समयअनुसार आफूलाई साँच्चिकै बदल्छ ?

विगतको महान् इतिहासले मात्रै भविष्यको राजनीति सुरक्षित हुँदैन । राणा, पञ्चायत र राजतन्त्रजस्ता शक्तिशाली सत्ता ढालेको कांग्रेस, आज आफ्नै आन्तरिक गुटबन्दी, सत्तालिप्सा र बुढो किचलोका कारण आफ्नै अस्तित्व जोगाउन ढल्मलाउने अवस्थामा पुगेको छ । त्यसैले गगन–विश्वप्रकाशको नयाँ नेतृत्वका लागि यो केवल पद सम्हाल्ने अवसर मात्र होइन, कांग्रेसको पुरानो ‘डीएनए’ फेरेर पार्टीलाई नयाँ युग अनुकूल बनाउने अन्तिम परीक्षा पनि हो । यदि उनीहरूले यो ८० वर्षे बुढो पार्टीलाई गुटगत किचलो र पुरानै नेताहरूको छायाबाट बाहिर निकालेर जनअपेक्षाअनुसार ढाल्न सके भने कांग्रेसको पुनर्जागरण हुनेछ । अन्यथा, इतिहास निर्माण गरेको यो ऐतिहासिक पार्टी आफैँ इतिहासको पानामा सीमित हुने खतरा भने जीवितै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्