काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सले इंग्ल्यान्डका मोइन अलीलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । पूर्व अलराउन्डर तथा दुई पटकको विश्वकप विजेता इंग्ल्यान्डका खेलाडी अली यो सिजनका लागि जनकपुरमा आबद्ध भएका हुन् ।

जनकपुरले यसअघि हरमित सिंह, न्युजिल्यान्डका जिमी निशाम र पाकिस्तानका इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ । अली सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए ।
सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए । तीन वटै ढाँचामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका अली टेस्ट क्रिकेटमा ३ हजारभन्दा धेरै रन र २ सयभन्दा बढी विकेट लिने खेलाडीमध्ये पर्छन् ।
उनले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए । जनकपुर एनपीएलको पहिलो सिजन विजेता टोली हो ।













