काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिवार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरी शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले भने, ‘मैले नेपाली कांग्रेसको यसपालि महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु, निर्णय गरेको छु । मेरा अग्रजहरू, मेरा साथीहरू र मुलुक भित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका सबै महाधिवेशन प्रतिनिधिज्यूहरूलाई यो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ।’
कांग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए ।
उनले भने, ‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ, हामी विराटनगरबासी, मोरङबासीहरूले त्यसमा गर्व पनि गर्छौँ । अहिले बदलिँदो परिस्थितिमा नेपाली कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दूरदराजमा भएका नेपाली नागरिकका पक्षमा काम गर्ने र दुई छाक खानाको निम्ति सङ्घर्ष गरिरहेका र एउटा सामान्य रोग उपचार गर्नबाट वञ्चित भइरहेका तमाम हजारौँको सङ्ख्यामा देशमा विभिन्न दूरदराजमा रहेका नागरिकको पक्षमा अनवरत रूपमा हामी काम गर्दै आएका छौँ ।’
उनी मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसअघि शर्मा बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए ।













