पुरानाले केही गरेनन्, नयाँले केही गर्लान् भन्ने आशा पलाएका दुईजना सवारी चालक सरकारकै दुव्र्यवहारका कारण आत्मदाह गर्न बाध्य भए । आत्मदाहको घटना सामान्य होइन, तर नयाँ भनिएकाहरूले पनि आत्मदाह गर्नुको पीडा बुझ्न सकेनन् र हरेक आत्मदाहको घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुको साटो सम्झौतामा क्षतिपूर्ति दिएर टुंग्याइयो । जसले गर्दा मर्ने मरेर गए, घटनाका दोषीहरू निर्धक्क सडकमा घुमिरहे ।

सवारी चलाएर ज्यान पाल्न बाध्य गरिब, मजदुरको यो व्यथालाई केही गर्ला कि भन्ने सरकारले पनि सुनेन, जसका कारण आत्मदाहको घटना बढ्दै गएको छ । यो सरकारप्रतिको आक्रोश हो । जबसम्म दोषिमाथि कारबाही हुँदैन तबसम्म यही नियति चालकहरूले भोगिरहनुपर्छ ।
फेरी उही नियति दोहोरियो गत असोज ५ गते । काठमाडौँको त्रिपुरेश्वरस्थित बसस्टप नजिक रिद्धिसिद्धी यातायातको बसमा आगजनी गरेर मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङले आत्मदाहको प्रयास गरे । तत्कालै उनलाई उद्धार गरेर किर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिए पनि सोही दिन राति नै उनको मृत्यु भयो ।
विगतमा जस्तै, यस घटनामा पनि ट्राफिक प्रहरी र तामाङबीच भएको वादविवाद नै उनलाई मृत्युको मुखमा पु¥याउने कारक बन्यो । सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा हेर्दा ट्राफिक नियम उल्लंघनको आरोपमा उनलाई ट्राफिक प्रहरीले जरिवाना गर्न खोजेको देखिन्छ । तर तामाङले आफ्नो गल्ती नभएको जिकिर गर्दै बिना कसुर आफूलाई जरिवाना गर्न खोजिएको दाबी गर्छन् ।
आफूले माफी मागेपनि प्रहरीले तिरस्कार गरेको भन्दै चालक ‘बरु मर्न तयार छु, तर जरिवाना तिर्दिनँ’ भन्छन् । त्यहीँ साइडमै गाडि पार्किङ गरेर एकैछिन हराएका उनी केही समयपछि गाडिभित्रै बसेर गाडीमा आगजनी गर्छन् र प्राण फ्याल्छन् ।
प्रहरी र चालकका बीचमा हुने वादविवादले किन एकै प्रकृतिका आत्मदाहका घटना एकपछि अर्को गर्दै निम्त्याइरहेका छन् भन्नेतर्फ सोच्ने बेला आएको छ । सरकार, समाज र आम नागरिकले यो विषयलाई गम्भीरतापूर्वक लिने बेला भएको छ ।
नेपाली समाज किन यतिधेरै ‘फ्रस्टेटेड’ भइरहेको छ कि, आफूले जित्नुपर्ने, आफूले भनेको नै हुनुपर्ने र अरूको कुरा सुन्नै नसक्ने । अनि सरकारी सेवामा रहेकाहरू पनि किन सुमधुर स्वरले सेवाग्राहीहरूलाई व्यवहार गर्न सकिरहेका छैनन्, किन झर्किरहेका छन् ? किन कुनै बदला लिएजसरी उनीहरूसँग व्यवहार गरिरहेका छन् ? जसले गर्दा दुःखद घटनाको परिस्थिति निम्तिइरहेका छन् । ‘प्रहरी मेरो साथी’ भन्ने नारा नै छ । तर किन साथीको व्यवहार हुन सकेको छैन ? किन ‘मुस्कानसहितको सेवा’ दिन नसकेर चित्त दुखाई मात्रै भइरहेको छ ?
सम्बन्धित निकायले यी घटनाहरूबाट पाठ सिकेर आफूलाई सुधार गर्न ढिला भइसकेको छ ।
यस्तै घटना यसअघि पनि भएको थियो, गत असार २५ गते । २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाए । तत्कालै उनको उद्धार गरेर नजिकैको वीर अस्पतालमा पु¥याइयो । तर शरीरको ६० प्रतिशत भाग जलिसकेकाले उनलाई चिकित्सकहरूले बचाउन सकेनन् । अस्पतालले भोलिपल्ट असार २६ गते उनको निधन भएको घोषणा ग¥यो ।
सामाजिक सञ्जालमा प्राप्त भिडियोहरू हेर्दा उनको शरिरमा ह्वारह्वारती आगो बलिरहेको थियो । उनी आगोको प्रवाह नगरी उभिइरहेका थिए । आगोले जल्दै गर्दा छट्पट्टिनुपर्ने हो । पीडा महसुस हुनुपर्ने हो । बाँच्नको लागि हारगुहार गर्नुपर्ने हो । तर उनी बेपर्वाह घटनास्थलमै उभिइरहेका थिए, शरीरमा आगो दन्दनी बलिरहेको थियो । किनकी, शरीरमा आगो लगाउने निर्णय उनी आफैँले गरेका थिए ।
मान्छेले आफ्नै शरीरमा आगो लगाएर जल्ने निर्णय किन गर्छ ? किन उसलाई आफ्नो शरीरको माया लाग्दैन ? किन त्यस्तो निर्णय लिनु अघि परिवारको सम्झना आउँदैन ? उनको मनमा कति गहिरो पीडा छ ? जसको कारण बाँच्नुभन्दा मर्नमा आनन्द मान्न सक्छ । त्यो दर्दनाक घटना हेर्दा सबैको मनमा यस्ता प्रश्नहरू खेल्छन् । तर, नेपालीको आत्मदाहको घटना पहिल्याउने हो भने कुनै ठूलो कारण देखिँदैन ।
हो, उनीसँग गरिबी होला, अभाव, संघर्ष र पारिवारिक जिम्मेवारीका कारण तनाव अवश्य थिए होलान्, तर आत्मदाहका लागि तत्कालीन कारण भने काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले राहदानी विभाग अगाडिको सडकमा पार्किङ गरेर राखिएको उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाउनु र उनीसँग विवाद हुनु देखियो ।
महिला नगर प्रहरीले उनलाई ‘नो पार्किङ’ मा पार्किङ गरेको भन्दै कराउँछिन् । नेपाली भाग्न खोज्दा नगर प्रहरीको हातबाट मोबाइल झरेर फुट्छ । मोबाइलको क्षतिपूर्ति नदेउञ्जेल मोटरसाइकलको ‘ह्वील लक’ नखोल्ने प्रहरीको अडानले उनीहरू बिच विवाद बढ्छ र नेपालीले मोटर साइकलबाट पेट्रोल निकालेर आफ्नो शरीरमा छर्किन्छन् र आगो लगाउँछन् । उनीसँग न त ट्राफिक नियम उल्लंघन गरेको रकम तिर्न पैसा हुन्छ । न त नगर प्रहरीको मोबाइलको क्षतिपूर्ति तिर्ने पैसा नै हुन्छ । विवश उनी जरिवानाको फन्दामा पर्नुभन्दा आगलागी गरेर जीवन त्याग्न तयार हुन्छन् ।
यो घटनाले मान्छेमा क्षणिक आवेगले कति गम्भीर परिस्थिति निम्त्याउँछ भनेर देखाउँछ । साथै, पछिल्लो समय नेपालीहरूको मनोदशा कस्तो बन्दै गइरहेको छ भन्ने पनि देखाउँछ । सरकारी सेवामा रहेका राष्ट्रसेवक कर्मचारीहरू हुन् अथवा आम नागरिकहरूले एक आपसमा गर्ने व्यवहार कति कर्कश बनाइरहेका छन् र त्यसले कसरी आपसी असझदारी बढाइरहेको छ भन्ने पनि यो घटनाले देखाएको छ ।
नेपाली समाजको सौन्दर्य आपसी मित्रता, प्रेम, सद्भाव र सहकार्य थियो र हो पनि । तर पछिल्ला दिनहरूमा व्यक्तिको मुखबाट सौम्य स्वर निस्कन छोडिसकेको छ । समझदारीपूर्ण कुरा निस्किन छोडिसकेको छ । केवल अरूको गल्ती समातेर चेप्ने प्रवृत्तिले हामीलाई स्वार्थी बनाउँदै गइरहेको छ । यसकारण कसैको आत्मसम्मानमा ठेस लाग्दा आत्मदाह गर्नुपर्ने अवस्थामा सम्म पुगिरहेका छन् ।
जानेर वा नजानेर गणेश नेपालीले ‘नो पार्किङ’ मा मोटरसाइकल पार्किङ गरे । उनलाई सम्झाएर, बुझाएर त्यहाँबाट हटाउन सकिन्थ्यो । अथवा, प्रहरीको निर्देशनमा उनी पनि इमानदारितापूर्वक त्यहाँबाट निस्किन सक्ने । तर दुईको इगोको लडाइँ त्यहाँ देखिएको छ ।
नेपाल प्रहरी हुन् वा नगर प्रहरी नै किन नहुन, उनीहरू आम नागरिकको पहरेदार हुन् । सुरक्षाकवच हुन् । नागरिकको सुरक्षा दिनेहरूकै व्यवहारका कारण नागरिकले असुरक्षाको महसुस, आत्मसम्मानमा ठेस लागेको महसुस गर्नुले दुई पक्ष बिच सहिष्णुता कायम भइरहन सक्दैन । यसले असमझदारी अझै बढाउँदै लैजाने निश्चित छ ।
पक्कै पनि, नेपालमा सडक समस्या धेरै छ । काठमाडौँ उपत्यकामा त सडक समस्या गम्भीर रोगजस्तै बनेको छ । साँघुरा सडक तर सवारी साधनको चाप, सरकारी हुन् अथवा गैरसरकारी कार्यालय, सेवाग्राहीको सवारी साधनका लागि पार्किङको सुविधा समेत नहुनुले निकै नै समस्या छ । बेरोजगारी समस्या त हुने नै भयो । पछिल्लो समय युवाहरूको आम्दानीको स्रोत ‘राइड सेयरिङ’ हुने गरेको छ । तर ‘राइड सेयरिङ’ प्रयोगकर्ताको भीडले सडक अस्तव्यस्त पनि हुने गरेको छ ।
सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरी होस् अथवा महानगर प्रहरीलाई नै किन नहोस् धौ धौ हुने गरेको छ । एकमनले हेर्दा उनीहरू पनि मानसिक तनावमा आउनु, रिसाउनु, झोक्किनु स्वाभाविक छ । तर एकैछिनको रिसलाई नियन्त्रण गर्ने हो भने हाँसेर व्यवहार गरिदिने हो भने सबै समस्याको समाधान क्षणभरमै हुन्छ भने त्यसो किन नगर्ने ?
कसैको मृत्यु भयो भने त्यो विषय तुरुन्तै राजनीतिकरण हुन्छ । गणेश नेपालीको निधनपछि पनि उक्त घटनामा राजनीतिकरण गर्न खोजियो । प्लेकार्ड लिएर माइतिघर मण्डलामा धेरै समूह जम्मा भए । परिस्थिति नियन्त्रण लिन स्थानीय प्रशासनलाई हम्मे हम्मे नै प¥यो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पीडित परिवारसँग घटनाको छानबिन गर्ने, श्रीमतीलाई रोजगारी दिने, छोरीलाई उच्च शिक्षासम्म महानगरले पढाइदिने र छानबिन समितिको प्रतिवेदनको आधारमा नेपालीलाई सहिद घोषणाका लागि सरकारलाई सिफारिस गर्ने सम्झौतामा घटना टुंगियो ।
तत्काललाई फिल्डमा खटिएका महानगर प्रहरीलाई निलम्बन गरियो । यसरी, कुनै सहमति गरेर पीडित परिवारलाई चुप लगाउनुले मात्रै समस्याको समाधान गरेको छैन । न त प्रहरीलाई यस्ता घटनाहरूको उचित व्यवस्थापनका लागि तालिम दिइएको छ, न त आम नागरिकलाई नै सचेत गराइएको छ । न त दोषी उपर कारबाहीको डन्डा नै चलाइएको छ । बरु तत्कालै घटना दबाउनेतिर सरकारको ध्यान जानुले यी समस्याहरूको दीर्घकालीन समाधान नहुने देखिन्छ ।













