Logo
Logo

पार्टीको महाधिवशेन ऐतिहासिक भूमिमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छ : देवराज चालिसे


252
Shares

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५ औँ महाधिवेशन ऐतिहासिक र प्रतीकात्मक महत्त्व बोकेको खुल्ला मञ्चमा हुन लागेको बताएका छन् । शनिवार खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा चालिसेले नेपालको राजनीतिक इतिहासमा यस स्थलको विशेष महत्त्व रहेको उल्लेख गरे । 

The current image has no alternative text. The file name is: chalise.jpg

२०३३ सालमा जननायक बीपी कोईरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमत संग्रहका लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन यही खुल्ला मञ्चबाट गरेका थिए । त्यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनका लागि नेता गणेशमान सिंहले पनि यही स्थलबाट परिवर्तनको उद्घोष गरेका थिए ।

चालिसेले भने, “यो ऐतिहासिक भूमिमा नेपाली काँग्रेसको १५ औँ महाधिवेशन हुँदै छ । अबको राजनीति पदका लागि होइन, परिणामका लागि हुनुपर्छ । शासन सुशासनका लागि हुनुपर्दछ भन्ने नीति हामीले समावेश गरेका छौँ । यस महाधिवेशनमार्फत नयाँ इतिहास निर्माण गर्ने लक्ष्य छ । बीपी कोईरालाको विचारधारालाई इतिहासमा मात्र सीमित नराखी भविष्यसँग जोड्दै आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई अगाडि बढाउने वैचारिक आधार यसले प्रदान गर्नेछ ।”

उनका अनुसार महाधिवेशनले पार्टीको संरचनागत र नीतिगत सुधार दुवै गर्नेछ । युवा सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग र प्रवासी नेपालीको प्रतिनिधित्व तथा सुशासनलाई प्राथमिकता दिइनेछ । महाधिवेशनले नेतृत्व चयनभन्दा नीति चयनलाई विशेष प्राथमिकता दिएको पनि उनले स्पष्ट पारे । आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहपछि बन्द सत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक र साङ्गठनिक दिशाबारे विस्तृत छलफल हुनेछ ।

बन्द सत्रमा सभापति गगन थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीति समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन् भने उपसभापति विश्वप्रकाश शर्माले समसामयिक विषयमा प्रतिवेदन पेस गर्नेछन् । विधान संशोधनमार्फत संरचनागत सुधारका विषयमा पनि छलफल हुनेछ। केही परिवर्तन यसअघि नै भइसकेको उनले जानकारी दिए ।

महाधिवेशनमा सहभागी प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ । देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । केही जिल्लामा निर्वाचन तथा मतगणना भइरहेकाले आइतबार बिहानसम्म सबै प्रतिनिधि काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ । बसोबास, भोजन तथा अन्य कार्यक्रमसम्बन्धी सूचना क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराइनेछ। महाधिवेशनका क्रममा हरेक दिन दुई पटक पत्रकार सम्मेलन गरी छलफलमा उठेका विषय, प्रतिनिधिको धारणा र पार्टीका गतिविधिबारे जानकारी दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्