Logo
Logo

निर्वाचनमा कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्नुपर्छ : प्रचण्ड


252
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट तथा लोकतान्त्रिक शक्तिहरूसँग सदन र सडकमा मात्र नभई निर्वाचनमा समेत सहकार्य गर्नुपर्ने बताएका छन् । शनिवार काभ्रे जिल्लामा आयोजित नेकपाको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच कार्यगत एकतामा जोड दिएका हुन् ।

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

उनले भने, “कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच पार्टी एकता, सहकार्य र कार्यगत एकतालाई अगाडि बढाउने निर्णय भएको छ । आगामी दिनमा सदन र सडकको सङ्घर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ ।”

उनले विगतका कमजोरी सच्याएर जनतासँग जोडिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । “अबको बाटो विगतका उपलब्धिहरूको रक्षा मात्र होइन, कमजोरी सच्याउँदै नयाँ परिस्थितिअनुसार पार्टी, विचार, सङ्गठन र नेतृत्वलाई रूपान्तरण गर्ने बाटो हो,” प्रचण्डले भने । उनले अहिले सच्चा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको उल्लेख गर्दे भने, “सच्चा कम्युनिस्ट शक्तिबीच एकता र सहकार्य, संविधान तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई बलियो बनाउँदै अगाडि बढ्नु आजको मुख्य आवश्यकता हो ।”

जनताको जीवनसँग जोडिनुपर्ने कुरामा जोड दिँदै प्रचण्डले नेता तथा कार्यकर्तालाई जनताका समस्या उजागर गर्न निर्देशन दिए । “महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव तथा गरिब, सुकुम्वासी, मजदूर र आधारभूत वर्गका समस्यालाई केन्द्रमा राखेर जनताका मुद्दा उठाउनुपर्छ । राज्यका नीतिले सबैभन्दा कमजोर वर्गमाथि पार्ने प्रभावलाई गम्भीरतापूर्वक हेर्नुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्