Logo
Logo

महिला उद्यमशीलता प्रवर्द्धनका लागि ‘चेम्बर बजार’ सुरु 


252
Shares

काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तारका लागि काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सुरु गरिएको छ । नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा शनिवारदेखि उक्त बजार सञ्चालनमा आएको हो । 

The current image has no alternative text. The file name is: chamaber.jpg

चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङ लगायतका स्टलहरू रहेका छन् । यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात-निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ ।

मेला उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन र व्यवसाय विस्तारमा चेम्बर बजारले सहयोग पुर्‍याउने बताइन् । महिला उद्यमीका वस्तुले पर्याप्त बजार नपाउँदा व्यवसाय विस्तारमा समस्या भइरहेको अवस्थामा उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा यसलाई अघि बढाइएको जानकारी उनले दिइन् । 

यस्तै, चेम्बरका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलाको विस्तारले स्थानीय र स्वदेशी उत्पादन सहज खरिदको अवसर सिर्जना हुने उल्लेख गरे । नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले चेम्बर बजारलाई व्यापारिक मेला मात्र नबनाई महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने उद्देश्य रहेको बताइन् ।  

मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठका अनुसार बजारमा बिक्री तथा प्रवर्द्धनका साथै उद्यमशीलता विकासका गतिविधि सञ्चालन गरिनेछ । सल्लाहकार निलम ताम्राकारले मेलाले महिला उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । मेलाको अवसरमा व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण, सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्य सचेतना र निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम सञ्चालन गरिनेछ। जमलबाट सुरु भएको चेम्बर बजारलाई आगामी दिनमा देशका अन्य प्रमुख सहरमा विस्तार गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्