काठमाडौं । जनमत पार्टीको आज नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने भएको छ । पर्साको वीरगञ्जमा शनिवारदेखि सुरु भएको पार्टीको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमार्फत् नयाँ कार्यसमिति चयन हुन लागेको हो । २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो । शनिवार राति ९ बजेदेखि मतगणना सुरु भएको थियो ।

अध्यक्ष पदमा डा. सिके राउतको मात्र उम्मेदवारी परेको छ । त्यसैले उनी निर्विरोध निर्वाचित हुने निश्चित भए पनि पार्टीको विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको छ ।
त्यस्तै, सात उपाध्यक्ष पदका लागि ११ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको छ ।
कार्यकारिणी सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा कुल १ हजार १५५ प्रतिनिधिले मतदानमा भाग लिएका थिए । महाधिवेशनको उद्घाटन समारोह पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको थियो ।













