काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पदको व्यवस्थापनका लागि मात्रै महाधिवेशन नभएको बताएकी छन् । पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा उनले महाधिवेशन आत्मसमीक्षाको थलो बन्नुपर्ने बताइन् ।

“यो अधिवेशन एउटा भेला होइन । २००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलो बन्न भइसकेको छ । यो महाधिवेशन पदको व्यवस्थापनका लागि भइरहेको छैन,” उनले भनिन्, “लोकतान्त्रिक विचार धारामा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ ।”
आत्मसुधार, पुनर्जागरण, पुनर्निर्माणको अवसरको रूपमा महाधिवेशनलाई लिनुपर्ने बताइन् । कांग्रेसमाथि कठिन प्रश्न तेर्सिएको उनको भनाइ छ ।
“महाधिवेशनबाट गइसकेपछि जनविश्वास बढाउन गाउँ–गाउँ जान तयार छौँ कि छैनौँ,” उनले भनिन्, “पार्टीभित्रको लोकतान्त्रिकरणलाई अझै बढी समावेशी गराउन तयार छौँ की छैनौँ ? त्यसको जवाफ लिएर जिल्लामा फर्कन जरुरी छ ।”













