Logo
Logo

काँग्रेसको आत्मा वीपी-गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा


189
Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुरानो मूल्य-मान्यताको रक्षा गर्दै कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको पार्टीको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसको पहिचान केवल चुनाव जित्ने र पद प्राप्त गर्ने खेलमा सीमित हुन नहुने भन्दै सङ्गठनलाई जनताको दुःखमा साथ दिने बलियो शक्ति बनाउनुपर्ने बताए। थापाले पार्टीको वैचारिक जग बीपी कोइराला र गणेशमान सिंहको त्यागबाट निर्मित भएको स्मरण गराउँदै कांग्रेसको विचार र मूल्यलाई कायमै राखेर काम गर्ने शैली, भाषा, सोच र संस्कृति बदल्नुपर्ने बताए। उनले सङ्गठनको अर्थ केवल कार्यालय वा अधिवेशन मात्र नभई जनतासँगको जीवन्त सम्बन्ध भएको स्पष्ट पारे।

उनले पार्टीभित्रको साङ्गठनिक शिथिलतालाई चिर्दै कार्यकर्ताहरूलाई वडा तहसम्म पुगेर जनतासँग एकाकार हुन निर्देशन दिए। पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिलाई लिएर उठेका प्रश्नमा उनले संयमित प्रतिक्रिया दिँदै देउवाको मान राख्न कुर्सी खाली राखिए पनि उनी नआएको बताए।

उनले भने, ‘कांग्रेस हुनुको अर्थ केवल पार्टीको झण्डा बोक्नु, नारा लगाउनु वा चुनावमा उम्मेदवार उठाउनु र जिताउनु मात्र होइन। नेपाली कांग्रेस त्योभन्दा धेरै माथिको विचार, मूल्य र आदर्शबाट बनेको पार्टी हो। हामी बदलिन आएका छौँ। बदलिनुको अर्थ आफ्नो मूल्य र आत्मा त्याग्नु होइन, बीपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै हाम्रो शैली, भाषा, व्यवहार, सोच, संस्कार र कार्यशैली परिवर्तन गर्नु हो। महाधिवेशन सकिएपछि फोटो खिचेर फर्किने होइन। प्रत्येक प्रतिनिधि वडा-वडामा पुगेर सङ्गठनलाई जनतासँग जोड्नुपर्छ। सङ्गठनको अर्थ पार्टी कार्यालय वा अधिवेशन मात्र होइन। किसान, युवा, अल्पसङ्ख्यक वा अप्ठ्यारोमा परेको जुनसुकै नागरिकले पार्टी खोज्दा उसको साथमा उभिन सक्नु नै सङ्गठन र कांग्रेस हुनुको वास्तविक अर्थ हो। शेरबहादुर देउवाप्रति सम्मान केवल उहाँको ढोकामा गएर सलामी दिएर होइन, उहाँले काम गर्नुभएको पार्टीलाई अझ अग्लो, बलियो र फराकिलो बनाएर गर्नुपर्छ। कांग्रेस छोडेर जानुभएका साथीहरूलाई पनि हामी भन्न चाहन्छौँ, तपाईंहरूले कांग्रेस छोड्नुभएको होइन, हाम्रो व्यवहारका कारण कांग्रेसले तपाईंहरूलाई छोडेको हो। तपाईंहरूको मनमा चोट पुर्‍याएको हामी स्वीकार गर्छौँ। अब कांग्रेस फेरि तपाईंहरूलाई जोड्न आउनेछ। यही सङ्कल्पका साथ कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ शैली र जनतासँग अझ गहिरो सम्बन्ध भएको पार्टी बनाऔँ।’

महाधिवेशनबाट पारित हुने कार्यदिशाले कांग्रेसलाई नयाँ उचाइमा लैजाने उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्