काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदै छ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुँदै छन् ।

बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई-मधेश) मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ । हिजो खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह भएको थियो ।
आजैबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि सुरु हुने भएको छ । आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ ।
आज ५ बजे मतदाता नामावली प्रकाशन हुने छ । ५ बजेदेखि ६:३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोधको समय तोकिएको छ । आज बेलुका ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुने छ । अपराह्न ४:३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४:३० देखि साँझ ५:३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ ।
त्यसपछि असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ । मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुनेछ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन ।













