काठमाडौं । पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी, दीपकुमार उपाध्यायलगायतले नयाँ नागरिक अभियान घोषणा गर्ने भएका छन् । सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा अभियान घोषणा गर्न भेला आयोजना गरिएको छ । अभियान गैरराजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइनेछ । अभियानमा अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्लसमेत छन् ।

पूर्वमन्त्री हृदयेश त्रिपाठीले अभियानमा समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने बताएका छन् । अभियानमा चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्वसचिव, पूर्व राजदूत तथा पत्रकारलगायतलाई अभियानमा समेट्ने तयारी छ ।
पछिल्लो समय समाज पुराना र नयाँ राजनीतिक दलको बिचको मनोविज्ञानमा सीमित हुँदै गएको भन्दै तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा राख्ने स्वतन्त्र नागरिक संस्थाको आवश्यकता रहेकाले अभियानको सुरुवात गर्न लागिएको जनाइएको छ ।
अहिलेको पहल राजनीतिक क्षेत्रका केही व्यक्तिले सुरु गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु रहेको त्रिपाठीले जनाएका छन् ।













