Logo
Logo

झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा


819
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन् ।

कम्युनिस्ट आन्दोलनलाई वैचारिक तथा राजनीतिक रूपमा पुनर्गठन गर्दै व्यापक वामपन्थी एकताको आधार तयार गर्ने उद्देश्यले अभियान अघि बढाइएको नेता खनालले बताएका छन्। अभियानको पहिलो भेलाले विभिन्न १५ बुँदे प्रस्ताव पारित गरेको थियो।

खनालको नेतृत्वमा शनिबार काठमाडौंमा भएको गोप्य भेलामा विभिन्न वामपन्थी समूहका नेता तथा कार्यकर्ता सहभागी भएका थिए। भेलाबाट पारित प्रस्ताव सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई ‘क्रान्तिकारी कार्यदिशा’का आधारमा पुनर्गठन र पुनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिस्ट समूहलाई आग्रह गरिएको छ।

भेलाले एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्नसमेत आह्वान गरेको छ। प्रस्तावमा कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीको गम्भीर समीक्षा गर्दै संगठनात्मक पुनर्गठन तथा एकीकरणको प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ।

अभियानले ‘नेपाली विशेषताको समाजवाद’बारे खुला वैचारिक बहस सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ। वैचारिक, सैद्धान्तिक, संगठनात्मक, कार्यशैलीगत तथा आचरणगत विषयमा खुला र नीतिनिष्ठ बहस आवश्यक रहेको प्रस्तावमा उल्लेख छ।

नेता खनालले समाजवादी जागरण अभियानलाई व्यापक वामपन्थी एकताको पहलका रूपमा अघि बढाउने बताएका छन्। यसअघि उनले पार्टीभित्र पनि नेतृत्व र कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको भन्दै फरक प्रस्ताव राख्दै आएका थिए।

अभियानमा यसअघि नेकपा (माओवादी केन्द्र)बाट बाहिरिएका हरिबोल गजुरेललगायत विभिन्न वामपन्थी पृष्ठभूमिका नेताहरूले साथ दिएका छन्।

खनालको यो कदमसँगै नेपाली कम्युनिस्ट राजनीतिमा नयाँ वैचारिक तथा संगठनात्मक ध्रुवीकरणको बहस सुरु भएको छ। अब अभियानले उठाएको ‘एकीकृत नेकपा’ निर्माणको प्रस्ताव व्यवहारमा कुन स्वरूपमा अघि बढ्छ भन्ने विषय आगामी राजनीतिक गतिविधिले स्पष्ट पार्नेछ।

प्रतिक्रिया दिनुहोस्