काठमाडौं । सरकारले कानुन ल्याएर निजामती कर्मचारी कटौतीको प्रयास गरिरहेको बेला सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहालको एक वर्ष पदावधि थप गर्न खोजेको छ । निजामती कर्मचारीहरुले ऐनको विरोध गरिरहँदा एआइजी दाहालको पदावधि सकिदा पनि एक वर्ष थप गर्ने प्रयास गरिएको हो । निजामती कर्मचारीहरु भने पदावधि थपगर्ने होइन समयावधि नपुग्दै राजिनामा दिएर बाहिरिन थालेका छन् ।

तर एआइजी दाहालले भने आफ्नो म्याद थप गर्न प्रधानमन्त्री कार्यालयमा दौडधुप गरिरहेका छन् । जसका लागि सशस्त्र प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ६५ को खण्ड (ग) को उपनियम (२) मा रहेको व्यवस्थाअनुसार मुख्यालयले गत साता दाहालको पदावधि थपका लागि गृह मन्त्रालयमा पत्राचार गरेको हो ।
नियमावलीअनुसार सशस्त्र प्रहरीका एआइजी तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) को पदावधि चार वर्षको हुन्छ । तर, सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) को सिफारिसमा नेपाल सरकारले एआइजी र डीआइजीको पदावधि चार वर्षपछि थप एक वर्ष बढाउन सक्ने व्यवस्था छ । हाल सीमा सुरक्षा विभागमा कार्यरत दाहालको पदावधि थप भए उनी २०८४ असोज २७ गतेसम्म सेवामा रहनेछन् । पदावधि थप नभए भने उनी यही असोज २७ गते अनिवार्य अवकाशमा जानेछन् ।
२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका दाहालले सशस्त्र प्रहरी बल स्थापना भएपछि २०५८ सालमा सेवा स्थानान्तरण गरेका थिए । उनी वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र निवर्तमान महानिरीक्षक राजु अर्यालका ब्याचमेट हुन् ।
चार वर्षे पदावधि पूरा गर्न लागेका दाहालको म्याद थपका लागि मुख्यालयले गरेको सिफारिस अब गृह मन्त्रालय हुँदै नेपाल सरकारसमक्ष पुग्नेछ । सरकारले नियमावलीमा रहेको व्यवस्थाअनुसार उनको पदावधि थप गर्ने वा नगर्ने निर्णय गर्नेछ । उनको पदावधि थप नभए डिआइजी दीपेन्द्र शाह एआइजीमा बढुवा हुनेछन् ।


















