काठमाडौं । नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन् ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले मूल्यवृद्धिलगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो ।
सङ्घका अध्यक्ष सुधीर पराजुलीले निकालेको विज्ञप्तिमा मध्यपूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्यधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढेका कारण सञ्चालन गर्नै कठिन भएर सस्ता दरका प्याकेज बन्द गर्नुपरेको उल्लेख छ ।
उपभोक्ता अधिकारकर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन् । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाका अनुसार यसले विद्यार्थीदेखि साना व्यापारीसम्मलाई असर पार्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्याएको छ ।
निजी क्षेत्रका कम्पनीहरूले सस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले भने ब्रोडब्यान्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ ।













