काठमाडौँ। गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।

मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरी बल (नेपाल) ले कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयको असोज १९ गतेको निर्णयअनुसार उनलाई निलम्बन गर्दै घटनाको छानबिनका लागि जाँचबुझ अधिकृत तोकिएको छ।
मन्त्रालयले तोकिएका जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। छानबिनको निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
साथै, निजामती तथा सुरक्षा निकायका सम्पूर्ण कर्मचारीले कानुनबमोजिम पदीय आचरण पालना गर्नुपर्ने र सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको गोपनीयता कायम राख्नुपर्ने दायित्व रहेको विज्ञप्तिमा स्मरण गराइएको छ।













