Logo
Logo

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट


126
Shares

काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद ९डीपी० अर्यालले चिनियाँ प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।

The current image has no alternative text. The file name is: dp.jpg

भेटका क्रममा सभामुख अर्यालले नेपाल र चीनबीचको सम्बन्ध निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित रहेको उल्लेख गरे । उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारे ।

सभामुख अर्यालले नेपाललाई भू-परिवेष्टित मुलुकबाट भू-जडित मुलुकमा रूपान्तरण गर्न चीनले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले हालै रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गरे । विपद्का क्रममा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि परिचालित सुरुङ उद्धार, फरेन्सिक तथा डीएनए विशेषज्ञ टोली, ड्रोनलगायतका सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

भेटमा नेपाल-चीन संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको हो । सभामुख अर्यालले दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तर-संसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

उनले आईपीयूको एसिया-प्रशान्त समूहमा दुवै संसद्बीच सहकार्य गर्दै दिगो विकास, जलवायु परिवर्तन, विपद् उत्थानशीलता तथा संसदीय कार्यमा प्रविधिको प्रयोगका क्षेत्रमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए । नेपालले चीनसँग संसदीय क्षमता अभिवृद्धि तथा दिगो विकासका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्न चाहेको उनले बताए ।

सभामुख अर्यालले नेपालमा चीन सरकारको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजना तथा चिनियाँ लगानीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा व्यापार, लगानी, विकास तथा जनस्तरीय र सांस्कृतिक सम्बन्धका क्षेत्रमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्