Logo
Logo

दसैँको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने


252
Shares

काठमाडौं । आउँदै गरेको दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलवार सरोकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले सो निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: surkhet-buspark.jpg

चाडबाडको समयमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, यातायात श्रमिक सङ्गठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का प्रतिनिधिबीचको छलफलपछि असोज २३ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदुर सङ्गठनका अध्यक्ष दिपक केसीले जानकारी दिए ।

यस वर्षको दसैँ अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने आकलन गरिएको छ । आज बसेको बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । निर्णयअनुसार, अब लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ । टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ ।

चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने र टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ । पारदर्शी टिकट प्रणालीका लागि सरकार, व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिनेछ।

त्यसैगरी, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने भएको छ । सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायतका अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय समेत भएको छ ।  बसपार्क र टिकट काउन्टरहरूमा हुने यात्रुको अत्यधिक चापलाई व्यवस्थित गर्न सुरक्षा निकायको प्रभावकारी परिचालन गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्