काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महानिर्देशक डा. गोपाल तिवारीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत अन्य पदाधिकारी तथा परिषद् सदस्यहरूको समुपस्थितिमा सम्झौता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले यस सम्झौतापश्चात् सातै प्रदेशका साथै क्रमिक रूपमा अन्य क्षेत्रमा समेत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए । यसबाट उद्योगी–व्यवसायीको वित्तीय ज्ञान बढ्नुका साथै वित्तीय अनुपालना क्षमतामा समेत अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै उनले बैंकलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी–व्यवसायीहरूलाई आफ्नो वित्तीय विवरण तयार गर्न र सोसँग सम्बन्धित वित्तीय अनुपालना कायम राख्न सरोकारवालाहरूको उपस्थितिमा तालिम सञ्चालन गरिने जानकारी दिए । यसका लागि आवश्यक पर्ने प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने र त्यसले उद्योगी–व्यवसायीको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
बैंकले ‘फ्युचर रेडी’ अवधारणाअनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको छ ।













