काठमाडौं । कहिलेकाहीँ फुटबलमा एउटा खेल जितिन्छ, तर त्यो जितसँगै एउटा सिङ्गो युगले विश्राम लिन्छ । कहिलेकाहीँ मैदानमा जित त हुन्छ, तर रंगशालामा जितको उत्सव होइन, भावुकता छाउँछ । मैदानमा २२ जना खेलाडी हुन्छन्, तर हजारौं समर्थकको आँखा केवल एउटै मानिसमा अडिन्छन् ।
अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको मोनुमेन्टलमा मंगलबार राति यस्तै भयो । कागजमा यो अर्जेन्टिना र बेनिनबीचको एउटा सामान्य मैत्रीपूर्ण खेल थियो, तर अर्जेन्टिनी जनताका लागि यो कुनै सामान्य रात थिएन । किनकि नम्बर १० को सेतो–नीलो जर्सी लगाएर मैदानमा उत्रिएका लियोनल मेस्सीका लागि यो राष्ट्रिय टोलीको अन्तिम यात्रा थियो । अन्तिम खेल थियो । अन्तिम उपस्थिति थियो ।
खेल सुरु हुनुअघि नै मोनुमेन्टल जनसागरले भरिइसकेको थियो । उनीहरू केवल खेल हेर्न होइन, आफ्ना नायकलाई अन्तिमपटक मैदानमा दौडिएको हेर्न आएका थिए । विशाल मैदानको बीचमा मेस्सीको १० नम्बर अङ्कित विशाल जर्सी बिछ्याइएको थियो, जहाँ स्पष्ट अक्षरमा लेखिएको थियो– ‘ग्रासियस’ अर्थात् धन्यवाद!
तर त्यो धन्यवादको गहिराइ र भाव यति विशाल थियो कि त्यसलाई कुनै शब्दले समेट्न सक्दैनथ्यो । मेस्सी आफ्ना छोराहरूसँग मैदान प्रवेश गर्दा सिङ्गो रंगशाला जुरुक्कै उठ्यो । दर्शकले ‘स्ट्यान्डिङ ओभेशन’ दिए, तालीको गडगडाहटले स्टेडियम गुन्जियो ।
अनि जब अर्जेन्टिनाको राष्ट्रिय गान बज्न थाल्यो, फुटबलका लेजेण्ड मेस्सी आफैँलाई सम्हाल्न सकेनन् । राष्ट्रगान सकिँदासम्म उनले आँसु रोक्ने अथक प्रयास गरे, तर सकेनन् । आँखाबाट आँसुका थोपा खसे । त्यतिबेला मुख्य प्रशिक्षक लियोनल स्कालोनीका आँखा पनि भरिएका थिए ।
त्यो दृश्यले संसारलाई सम्झायो– जसलाई दुनियाँले मैदानमा अजम्बरी र असाधारण देख्यो, त्यो मानिस पनि भावनाले नै बनेको रहेछ । उता विपक्षी टोली बेनिनले पनि खेल भावना र सम्मानको अद्भूत उदाहरण प्रस्तुत गर्यो । बेनिनका कप्तान लेस गेपाड्र्सले मेस्सीलाई विशेष स्मृतिचिह्न र सम्मानपत्र हस्तान्तरण गरेका थिए । मैदानमा प्रतिद्वन्द्वी बनेर आएका बेनिनका खेलाडीहरू पनि मेस्सीलाई हराउन होइन, फुटबल इतिहासको सबैभन्दा भावुक क्षणको साक्षी बन्न आएका जस्ता देखिन्थे ।
तर मेस्सीको सम्मान यतिमै सीमित रहेन । खेलको १०औँ मिनेटमा रेफ्रीले खेल रोकिदिए । मोनुमेन्टल फेरि जुरुक्कै उठ्यो । ८५ हजारभन्दा बढी मानिसले एकैसाथ ताली बजाए । ‘मेस्सी… मेस्सी…’ को आवाजले रंगशाला थर्कियो, आकाशमा आतसबाजी भयो ।
त्यो १० नम्बर जर्सीप्रतिको सम्मान थियो, त्यो सर्वकालीन महान् खेलाडीप्रतिको कृतज्ञता थियो, जसले दशकौँसम्म अर्जेन्टिनी फुटबलको सपना आफ्नो काँधमा बोकेका थिए । त्यो क्षण मैदानमा केवल खेल भइरहेको थिएन, त्यहाँ त इतिहासको पुनरावृत्ति भइरहेको थियो । बार्सिलोनाको सानो दुब्लो केटोदेखि अर्जेन्टिनाको नम्बर १० सम्मको यात्रा सम्झिइँदै थियो । ती कठोर आलोचना, ती दुखाउने हार, कोपा अमेरिकाका आँसु र विश्वकपका अधुरा सपनाहरू धेरैले सम्झिरहेका थिए । २०१६ मा कोपा अमेरिकाको फाइनल हारेपछि निराशामा सन्यास घोषणा गरेको त्यो क्षण सम्झिइयो, अनि २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप उचालेर आलोचकहरूलाई निःशब्द पारेको त्यो ऐतिहासिक पुनरागमन पनि सम्झिइयो ।
मेस्सीको कथा केवल गोल र ट्रफीहरूको कथा मात्र थिएन । यो त असफलताबाट माथि उठ्ने, आलोचना सुन्ने, “देशका लागि केही गर्न सकेन“ भन्ने आरोप सहँदासहँदै पनि देशकै लागि फेरि मैदानमा फर्किने कथा थियो । अनि अन्ततः त्यही जर्सीमा विश्वकप उचालेर संसारलाई आफ्नो महानताको प्रमाण दिने कथा थियो । त्यसैले मंगलबार राति मेस्सीको आँखाबाट खसेको आँसु केवल एउटा खेलाडीको आँसु थिएन, त्यसमा त २१ वर्ष लामो कठोर र सुनौलो यात्राको सुख–दुःख सबै मिसिएका थिए ।
पहिलो हाफमा मेस्सी गोलका लागि संघर्ष गरिरहेका थिए । केही अवसर पाएपनि उनी चुके । तर दोस्रो हाफमा भने उनले संसारलाई अन्तिमपटक त्यही जादुमयी मेस्सीको रूप देखाए, जसलाई दुनियाँले वर्षौंसम्म पूजेको थियो । ४८औँ मिनेटमा मेस्सीको सटिक कर्नरमा निकोलास ओटामेन्डीले उत्कृष्ट हेडरमार्फत गोल गरे । ६१औँ मिनेटमा मेस्सीले निको पाजलाई दिएको उत्कृष्ट पास गोलमा परिणत भयो । अनि आयो त्यो क्षण, जसको पर्खाइमा सिङ्गो मोनुमेन्टल स्टेडियम श्वास रोकेर बसेको थियो ।
७०औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । पेनाल्टी सामान्यतया गोलको अवसर मात्र हो, तर त्यो रातिको पेनाल्टी राष्ट्रिय जर्सीमा मेस्सीको अन्तिम गोलको सुनौलो ढोका थियो । मेस्सी अघि बढे । सधैँझैँ शान्त, सन्तुलित र एकाग्र । उनले बललाई दोस्रो पटक सोच्नै नपर्ने गरी जाली चुमाए । रंगशाला फेरि एकपटक गुन्जियो– ‘मेस्सी… मेस्सी…!’
मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ खेलमा १२६औँ अन्तर्राष्ट्रिय गोल गरे । आफ्नो अन्तिम खेलमा गोल गरेर बिदाइ लिनु मेस्सीको लागि योभन्दा सुन्दर अन्त्य अरू केही हुन सक्दैनथ्यो । तर खेल सकिएपछिको दृश्य झन् बढी हृदयस्पर्शी थियो । अन्तिम सिट्टी बज्यो, अर्जेन्टिना ३–० ले विजयी भयो । तर, त्यो क्षण कसैलाई स्कोरबोर्डको मतलब थिएन । सबै साथीहरू मेस्सीलाई घेरेर उभिए, ताली बजाए । समर्थकहरू फेरि उठे, ‘ओले, ओले, ओले… मेस्सी, मेस्सी’ गुन्जियो ।
त्यति मात्रै होइन, रेफ्रीले समेत मेस्सीको बिदाइलाई यादगार बनाउँदै उनलाई पहेँलो र रातो कार्ड उपहार दिए। खेल सकिएपछि चिलीका रेफ्री फर्नान्डो भेजारले खेलमा प्रयोग भएका दुवै कार्ड मेस्सीलाई हस्तान्तरण गरेका थिए।
यसको सम्बन्ध मेस्सीको अन्तर्राष्ट्रिय करियरको सुरुवातसँग जोडिएको छ। सन् २००५ मा हंगेरीविरुद्ध अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सी मैदान प्रवेश गरेको केही सेकेन्डमै रातो कार्ड पाएर बाहिरिएका थिए। अर्थात्, उनको अन्तर्राष्ट्रिय करियरको सुरुवात नै रातो कार्डबाट भएको थियो।
त्यसैले अन्तिम खेलमा रेफ्रीले रातो र पहेँलो कार्ड उपहार दिएर मेस्सीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्राको एउटा चक्र पूरा भएको संकेत गरेका हुन्। रेफ्री फर्नान्डो भेजारले मेस्सीको संन्यासलाई विशेष सम्मान दिँदै खेलको बलसँगै आफ्ना कार्डहरू पनि मायाको चिनोस्वरूप मेस्सीको हातमा थमाइदिएका थिए।
त्यसपछि मैदानको बीचमा एउटा विशाल ब्यानर फहराइयो, जसमा लेखिएको थियो– ‘इटर्नल क्याप्टेन’ अर्थात् ’अमर कप्तान’ । त्यसपछि मोनुमेन्टलको आकाशमा ड्रोनहरूले मेस्सीको विशाल आकृति बनाए । उज्यालोमा चम्किरहेको नम्बर १० र ‘ग्रासियस लियो’को सन्देशले रातको आकाश सजियो ।
त्यसपछि मेस्सीले माइक समातेर समर्थकहरूलाई सम्बोधन गरे । उनले दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाउन पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो गर्वको विषय भएको बताए । भावुक हुँदै उनले समर्थकहरूप्रति अगाध प्रेम र कृतज्ञता प्रकट गरे ।
उता मैदानमा मेस्सीका सहकर्मीहरू आफ्ना आँसु थाम्न सकिरहेका थिएनन् । एन्जो फर्नान्डेजका आँखाबाट आँसु रोकिइरहेको थिएन । जसको लागि मैदान आफ्नो ज्यान दिएर खेल्थे, अब उही नरहने भएपछि खेलाडीहरू रुनु स्वाभाविकै थियो, तर दर्शकदीर्घामा बसेका हजारौँ समर्थकहरू पनि भक्कानिइरहेका थिए । मोनुमेन्टल स्टेडियममा उपस्थित ८५ हजार समर्थकलाई एउटै कुराले भावुक बनाइरहेको थियो– अब अर्जेन्टिनाको आकाशीय नीलो र सेतो जर्सीमा लियोनल मेस्सीलाई फेरि कहिल्यै देख्न पाइने छैन ।
त्यसपछि फाबियो सान्तानाले अर्जेन्टिनाको राष्ट्रिय गान गाएर मेस्सीको अन्तिम बिदाइ गरे । उनको पछाडि ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् माल्भिनास अर्जेन्टिनाकै हुन्’ लेखिएको ऐतिहासिक ब्यानर लहराइरहेको थियो । त्यही ब्यानर, जुन अर्जेन्टिनाका खेलाडीहरूले २०२६ को विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई हराएपछि प्रदर्शन गरेका थिए ।
यी सबै सम्मानले सर्वकालीन महान् फुटबल स्टारलाई भनिरहेको थियो– ‘तिमीले जे गर्न सक्थ्यौ, त्योभन्दा धेरै गर्यौ । तिमीले हाम्रा असम्भव सपनाहरू पूरा गरिदियौ, हाम्रा आँसु पुछिदियौ, हाम्रा तीखा आलोचनाहरू सह्यौ, अनि अन्ततः हामीलाई विश्वकपको ट्रफी दियौ ।’
मंगलबार राति ब्युनर्स आयर्सले केवल एउटा खेलाडीलाई बिदाइ गरेको थिएन, एउटा सिङ्गो राष्ट्रले आफ्नो नायकलाई र फुटबल दुनियाँले एउटा स्वर्णिम युगलाई बिदाइ गरेको थियो । मंगलबार राति बेनिनविरुद्धको ३–० को जितसँगै मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल पूरा गरे । २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्राको अन्तिम खेलमा उनले एक गोल र २ असिस्टको अमिट छाप छाड्दै बिदाइ लिए ।
अब मेस्सी अर्जेन्टिनाको सेतो–नीलो जर्सीमा कहिल्यै देखिने छैनन् । यो सोच्दा मात्रै पनि संसारभरका अर्जेन्टिनी र मेस्सी समर्थकको मन भारी हुन्छ । तर जब–जब सेतो र नीलो जर्सीमा १० नम्बर टल्कनेछ, मेस्सीलाई फेरि सम्झाइदिने छ ।













