
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ‘अर्नव’ चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनालाई उद्धृत गर्दै महासङ्घले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसमको बढी प्रभाव र कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरी तथा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।
महासचिव गौतमले सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । महासङ्घले अवस्था जोखिमपूर्ण भएमा आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न तथा बन्द गर्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउन पनि आग्रह गरेको छ ।
महासङ्घले खराब मौसमका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई यात्रा नगर्न र गइसकेका पर्यटकलाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।
त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सम्भावित विपद् आउनुअघि सुरक्षित स्थानमा स्थानान्तरण गर्न, विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन र मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन सम्बन्धित निकायलाई आग्रह गरेको छ । महासङ्घले मौसमसम्बन्धी जानकारीका लागि मौसम विज्ञान विभागको हटलाइन ११५५ तथा विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।















