Logo
Logo

नाफामा बैंकको छलाङ, मुख्य व्यवसायमा संकुचन


0
Shares

काठमाडौं । वाणिज्य बैंकहरूको नाफा हेर्दा बैंकिङ क्षेत्रको अवस्था सुधारोन्मुख देखिन्छ । तर नाफाको स्रोत विश्लेषण गर्दा तस्वीर त्यति उत्साहजनक छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा ४५.५९ प्रतिशतले बढेको छ । तर बैंकिङ व्यवसायको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी भने ०.९७ प्रतिशत मात्रै बढेको छ । अधिकांश बैंकको ब्याजदर अन्तर (स्प्रेड) खुम्चिएको छ भने आधा बैंकको खुद ब्याज आम्दानी नै घटेको छ ।

यसले बैंकहरूको नाफा बढे पनि नियमित व्यवसायबाट आम्दानी विस्तार हुन नसकेको देखाउँछ । मुख्य आम्दानीमा सुधार नहुँदा नाफा वृद्धिको आधार कति दिगो छ भन्ने प्रश्नसमेत उठेको छ ।

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब १५ करोड रुपैयाँ थियो । यस अवधिमा १६ बैंकको नाफा बढेको छ भने एउटा बैंक घाटाबाट नाफामा फर्किएको छ । तीन बैंकको नाफा भने घटेको छ ।

नाफामा उल्लेख्य वृद्धि देखिए पनि खुद ब्याज आम्दानी भने गत वर्षको ४९ अर्ब २० करोड ३१ लाखबाट बढेर ४९ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ मात्रै पुगेको छ । अर्थात्, एक वर्षमा बैंकहरूको मुख्य आम्दानी ४७ करोड ५१ लाख रुपैयाँले मात्र बढेको छ ।

बैंकहरूको आम्दानीमा यस्तो सुस्तता आउनुको प्रमुख कारण अधिक तरलता र कर्जाको कमजोर माग हो । विप्रेषण आप्रवाह बढ्दै जाँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर आन्तरिक अर्थतन्त्रमा अपेक्षित सुधार नहुँदा उद्योगी–व्यवसायीबाट नयाँ कर्जाको माग बढ्न सकेको छैन । उपलब्ध रकम कर्जामा परिचालन गर्न नसकेपछि बैंकहरू नयाँ व्यवसाय सिर्जना गर्नुभन्दा अन्य बैंकका ऋणी र ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धामा लागेका छन् ।

बैंकहरूले आधार दरको आसपासमै ब्याजदर प्रस्ताव गर्ने र कर्जा स्वापमार्फत प्रतिस्पर्धी बैंकका ग्राहक तान्ने क्रम बढेको छ । पुराना ग्राहक जोगाउन पनि ब्याजदर घटाउनुपर्ने अवस्था छ । यसको प्रत्यक्ष असर बैंकहरूको स्प्रेड दरमा परेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० मध्ये १९ वाणिज्य बैंकको स्प्रेड दर घटेको छ । राष्ट्र बैंकले अधिकतम चार प्रतिशत स्प्रेडको सीमा तोके पनि अधिकांश बैंकको वास्तविक स्प्रेड त्यसको तुलनामा निकै कम छ ।

हिमालयन बैंकको स्प्रेड ३.३४ बाट घटेर २.७८ प्रतिशत र एभरेष्ट बैंकको ३.३६ बाट २.९६ प्रतिशतमा झरेको छ । एनआईसी एशियाको ३.९९ बाट ३.३१ प्रतिशतमा सीमित भएको छ । नबिल र ग्लोबल आइएमई बैंकको स्प्रेड समान ३.१७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यी बैंकको स्प्रेड क्रमशः ३.५१ र ३.४८ प्रतिशत थियो ।

कुमारी बैंकको स्प्रेड ३.५३ बाट ३.०३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.४४ बाट तीन प्रतिशत र सानिमा बैंकको ३.६५ बाट ३.१७ प्रतिशतमा झरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्प्रेड भने ३.६३ बाट बढेर ३.६८ प्रतिशत पुगेको छ ।

स्प्रेड घट्दा बैंकको कर्जा र निक्षेपबीचको ब्याज अन्तर खुम्चिन्छ । यसले कर्जा विस्तार भए पनि ब्याज आम्दानी अपेक्षित रूपमा बढ्न नदिने अवस्था सिर्जना गर्छ । पहिलो त्रैमासमा १० बैंकको खुद ब्याज आम्दानी घट्नुले यही प्रवृत्तिलाई पुष्टि गर्छ ।

कुमारी बैंकको खुद ब्याज आम्दानी २८.१९ प्रतिशतले घटेर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा झरेको छ । प्रभु बैंकको १९.३६ प्रतिशत र एनआईसी एशियाको १७.३५ प्रतिशतले घटेको छ । हिमालयन बैंकको १२.३१ प्रतिशतले घट्दा सिटिजन्स बैंकको ७.४९ प्रतिशतले संकुचन आएको छ ।

तर केही बैंकले भने ब्याज आम्दानी विस्तार गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ३७.४६ प्रतिशतले बढेर चार अर्ब एक करोड ४७ लाख रुपैयाँ पुगेको छ । नबिल बैंकको २१.४२ प्रतिशतले बढेर चार अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

बैंकहरूको खुद नाफा बढ्नुको प्रमुख कारण कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकममा आएको कमी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले २० अर्ब १४ करोड दुई लाख रुपैयाँ प्रोभिजनिङ गरेका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ११ अर्ब नौ करोड ६६ लाख रुपैयाँमा झरेको छ । यो ४४.९ प्रतिशतको गिरावट हो ।

यसरी कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकम करिब नौ अर्ब चार करोड रुपैयाँले घटेको छ । विगतमा जोखिम व्यवस्थापनका लागि छुट्याइएको रकम घट्नु र कर्जा असुलीमा सुधार आउनुले बैंकहरूको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ ।

नबिल बैंकको प्रोभिजनिङ ७४.६६ प्रतिशतले घटेको छ । सानिमाको ६५.४१ प्रतिशत, कुमारीको ६४.४० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६३.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६०.८१ प्रतिशतले घटेको छ । प्राइम कमर्सियल बैंकको भने प्रोभिजनिङ २८.३० प्रतिशतले बढेर ६१ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफामा नबिल बैंक अग्रस्थानमा छ । बैंकले दुई अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले दुई अर्ब ३१ करोड ३८ लाख र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५१९.५१ प्रतिशतले बढेर एक अर्ब १८ करोड १४ लाख रुपैयाँ पुगेको छ । कृषि विकास बैंकको नाफा पनि १८१५.७९ प्रतिशतले बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ । यी बैंकको नाफामा भएको उच्च वृद्धिमा प्रोभिजनिङ घट्नुको भूमिका महत्त्वपूर्ण देखिन्छ ।
बैंकहरूको वित्तीय विवरणले अहिलेको चुनौती तरलता अभाव नभई उपलब्ध रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न नसक्नु रहेको देखाउँछ । बैंकहरूबीच ब्याजदर घटाएर ग्राहक तान्ने प्रतिस्पर्धाले ऋणीलाई तत्काल राहत दिए पनि यसले नयाँ आर्थिक गतिविधि सिर्जना गर्दैन ।

प्रोभिजनिङ घटाएर एक वा दुई त्रैमास नाफा बढाउन सकिए पनि त्यसको सीमा हुन्छ । दीर्घकालीन रूपमा नाफा कायम राख्न बैंकहरूले नयाँ कर्जा सिर्जना गर्नुपर्ने, गुणस्तरीय ऋणी पहिचान गर्नुपर्ने र उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने हुन्छ । त्यसैले बैंकहरूको वास्तविक सुधार नाफाको अंकले होइन, नियमित ब्याज आम्दानी र गुणस्तरीय कर्जा विस्तारले निर्धारण गर्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000