
काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल-चाइना फ्राइन्डसीप फोरमले आयोजना गरेको सेमिनारमा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । उनले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध नभई असंलग्नता र पञ्चशीलको सिद्धान्तअनुसार नै परराष्ट्र सम्बन्ध सञ्चालन गर्नुपर्ने बताए ।
उनले गौतम बुद्धको मध्यम मार्गले समेत नेपालको परराष्ट्र नीतिमा प्रभाव पारेको उल्लेख गर्दै कुनै पनि अतिवादी धारमा नलागी सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताए । छिमेकी मुलुकहरूसँगको सम्बन्धमा अविश्वास बढ्ने खालका गतिविधि र परराष्ट्र नीति अवलम्बन गर्न नहुने उनको भनाइ छ । नेता ज्ञवालीले नेपालप्रति छिमेकी मुलुकहरूको विश्वास कमजोर भए शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थअनुसार चलखेल गर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए ।
छिमेकी मुलुकहरूलाई विश्वासमा लिएर अघि बढ्न नसके नेपालमाथि थेग्न नसक्ने गरी भूराजनीतिक दबाब सिर्जना हुनेतर्फ नेपाल सधैँ सजग हुनुपर्नेमा समेत उनको जोड छ । नेता ज्ञवालीले नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत दुवैसँगको सम्बन्धलाई अवसरका रूपमा लिनुपर्ने समेत बताए । उनले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र जनसङ्ख्याको आधारमा महत्त्वपूर्ण मुलुक हुनुका साथै ठूलो उपभोक्ता बजार, नवप्रवर्तनको केन्द्र र उत्पादन तथा आर्थिक वृद्धिको इन्जिन रहेको उल्लेख गरे ।
नेपालले ठूला मुलुकहरूको बीचमा रहेको भौगोलिक अवस्थालाई कमजोरीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै दुवै छिमेकीसँग पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।
उनले चीनको कम्युनिष्ट पार्टी सङ्गठनात्मक र नीतिगत रूपमा व्यवस्थित रहेको भन्दै त्यसबाट नेपालका कम्युनिष्ट पार्टीहरूले समेत पाठ सिक्नुपर्ने बताए ।
















