
एजेन्सी । अमेरिकाले रुस र युक्रेनबीच आगामी साता संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा वार्ता गराउन मध्यस्थता गर्ने भएको छ । अमेरिकी विशेष दूत स्टिभ विटकफले सोमबार अमेरिका रुस तथा युक्रेनबीच कार्यस्तरको वार्ताका लागि मध्यस्थता गर्न लागेको जानकारी दिएका हुन् ।
विटकफको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत आगामी नोभेम्बर १० र ११ मा अबुधाबीमा वार्ता हुने पुष्टि गरेको छ । वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्युनिकरणका प्रयास, मानवीय सहायता तथा शान्ति स्थापनाका लागि अघि चाल्नुपर्ने कदमबारे छलफल हुने जनाइएको छ । यसैबीच अमेरिकी वार्ताकारहरूले यसै साता बेल्जियमको ब्रसेल्समा फ्रान्स, जर्मनी, बेलायत, युरोपेली संघ (ईयू) र नेटोका प्रतिनिधिहरूसँग पनि छलफल गर्ने भएका छन् ।
उक्त छलफलमा युक्रेनका लागि सुरक्षा प्रत्याभूति, युद्धपछिको युरोपेली सुरक्षा संरचना तथा युक्रेनको पुनर्निर्माणमा सहयोग पु¥याउने आर्थिक अवसरका विषय समेटिने विटकफको कार्यालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति सम्झौता गराउने प्रयास गरिरहेको भए पनि दुवै पक्षबीच भीषण सैन्य संघर्ष जारी छ । यसअघि रुस, युक्रेन र अमेरिकाबीच गत फेब्रुअरीमा स्वीट्जरल्याण्डको जेनेभामा त्रिपक्षीय वार्ता भएको थियो । तर उक्त वार्ताबाट कुनै महत्वपूर्ण सहमति हुन सकेको थिएन ।
















