
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही गरिएको नभई जिम्मेवारी फेरबदल मात्र गरिएको बताएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको छ । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर जिम्मवारी दिइएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी सल्लाह दिन नयाँ पद सिर्जना गरिएको र यसलाई आईजीपी कार्कीले कारबाहीका रूपमा लिन नहुने बताए ।
निर्णय सुनाउँदै मन्त्री पोखरेलले भने, ‘वर्तमान परिस्थितिमा मुलुकको शान्ति, सुरक्षा व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव, परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने र विशेष सल्लाहकार पदमा आईजीपी दानबहादुर कार्कीलाई खटाउने निर्णय भएको छ ।’
आईजीपीको जिम्मेवारी के कारणले परिवर्तन गरियो भन्ने पत्रकारहरूको प्रश्नमा पोखरेलले भने, ‘यसलाई कारबाहीका रूपमा लिनुहुन्न, जिम्मेवारी फेरबदल मात्र गरिएको हो ।’
















