
अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मूलकी सराहना श्रेष्ठ विजयी भएकी छन् । उनी न्युयोर्क राज्यको निर्वाचन क्षेत्र १०३ बाट हाउस अफ एसेम्बेली सांसदमा ठूलो मतान्तरले विजयी भएकी हुन् ।
डेमोक्रेटिक पार्टीकी उम्मेद्वार श्रेष्ठले ४०,११४ मत ल्याउदा उनका प्रतिस्पर्धी रिपब्लिकन उम्मेद्वार सान्तोष लोपेजले १७,८४० मत प्राप्त गरे ।
यो जीतसँगै श्रेष्ठले जीतको ह्याट्रिक पनि पूरा गरेकी छन् । पहिलोपटक २०२२ मा यसै क्षेत्रबाट विजयी भएर उनले अमेरिकामा नेपालीमूलको विधानसभा सांसद हुने पहिलो महिलाको इतिहास बनाएकी थिइन् । त्यसपछि २०२४ को चुनावमा पनि उनी दोस्रो कार्यकालका लागि चुनिएकी थिइन् ।
यसपटकको प्राइमरी चुनावमा उनका कोही प्रतिस्पर्धी थिएनन् । उनले यसअघिका दुई प्राइमरीमा पार्टीको मध्यपन्थी संस्थापन पक्षका उम्मेद्वारलाई पाखा लगाएकी थिइन् ।
श्रेष्ठ डेमोक्रेटिक पार्टीमा वामपन्थी धारको प्रतिनिधित्व गर्छिन् । उनी एओसीका नामले चिनिने न्युयोर्ककी चर्चित कंग्रेसवुमन अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज नजिक छिन् ।

















