काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र हालैका विभिन्न विवादित घटनाक्रमहरूमाथि गम्भीर प्रश्न उठाएका छन्।

पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा सरकारको कार्यशैलीको आलोचना गर्दै महामन्त्री शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने वा पत्रकारलाई दुर्व्यवहार (ह्यारेस) गर्ने कार्य कहिल्यै स्वीकार्य हुन नसक्ने बताए।
उनले लोकतन्त्रको अवस्था मापन गर्ने मुख्य आधार प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै भने, “कुनै देशमा लोकतन्त्र छ कि छैन भन्ने कुरा त्यहाँ प्रेस स्वतन्त्रता कत्तिको छ भन्ने विषयले निर्धारण गर्छ। लोकतन्त्रमा मिडियालाई नै त्रसित र आतङ्कित पारियो भने त्यो लोकतन्त्र रहँदैन।”
पत्रकारहरूतर्फ लक्षित गर्दै शर्माले साङ्केतिक विरोधबारे प्रश्न गरे, “तपाईंहरूको हातमा किन कालोपट्टी देखिएन?”
कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा त्यसमाथि प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूकै अपमान हुने उनको तर्क थियो। विशेष महाधिवेशनपछिको राजनीतिक प्रक्रियाबारे उठिरहेका जिज्ञासाहरूप्रति आफ्नो धारणा राख्दै उनले सरकारको प्राथमिकतामाथि पनि प्रश्न गरे।
“यो समयमा सरकारले के गर्नुपर्ने थियो र वास्तवमा के गरिरहेको छ? के आईजी हटाउनु नै अहिल्यैको प्रमुख प्राथमिकता हो?” भन्दै उनले सरकारले ध्यान दिनुपर्ने विषय र वर्तमान गतिविधिबीच कुनै तालमेल नरहेको टिप्पणी गरे।
सिंहदरबार र बालुवाटारका गतिविधिप्रति टिप्पणी गर्दै शर्माले मतदाताको मतको घोर अपमान भइरहेको आरोप लगाए। “सिंहदरबार र बालुवाटारमा अहिले रमिता चलिरहेको छ। जनताले दिएको मतको कुनै सम्मान छैन र मुलुक ठीक ढङ्गले अघि बढिरहेको छैन,” शर्माले भने।
सरकार पाँचै वर्ष चल्नुपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै उनले सरकार र राजनीतिक दलहरूबीचको सम्बन्ध तथा हालैको राजनीतिक परिस्थितिबारे चासो व्यक्त गरे।
यस्तै, एक विचौलियाको मोबाइल नियन्त्रणमा लिएपछि त्यसमा रहेका सामग्रीहरू प्रधानमन्त्रीका सल्लाहकारसम्म कसरी पुगे भन्ने विषयमा शर्माले गम्भीर प्रश्न उठाएका छन्।
“एक जना व्यक्तिको मोबाइल कब्जा गरिसकेपछि त्यो सामग्री प्रधानमन्त्रीको सल्लाहकारकहाँ कसरी पुग्यो? यो कुन राजनीतिक वा प्रशासनिक मर्यादा हो? के प्रधानमन्त्री कार्यालय श्रम शिविर हो?” उनले प्रश्न गरे।
हालै सार्वजनिक भएका अडियो प्रकरणबारे बोल्दै शर्माले ती अडियोहरू कपोलकल्पित र नियोजित रहेको दाबी गरे। उक्त प्रकरणमा संलग्न पात्रहरू समयक्रमसँगै स्वतः बाहिर आउने उनको भनाइ थियो।
नेतृत्वमाथि उठेका प्रत्येक प्रश्नको सामना गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै शर्माले विवादित सबै विषयको निष्पक्ष र कानुनसम्मत अनुसन्धान हुनुपर्नेमा जोड दिए।
“जे-जति प्रसङ्गहरू उठेका छन्, ती सबैको विधिसम्मत छानबिन होस्। आफ्नो वैधानिकताको सन्दर्भमा स्वतन्त्र, निष्पक्ष र कानुनी प्रक्रियाबाटै सत्यतथ्य बाहिर ल्याइयोस्,” शर्माले भने।

















