Logo
Logo

अमेरिकी चुनावमा नेपाली: न्यू ह्याम्पसायरमा विश्व शाह विजयी, नेपालीमूलका विधायक तीन पुगे


0
Shares

न्युयोर्क । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा विश्वबहादुर शाह न्यू ह्याम्पसायर राज्यको विधायक पदमा विजयी भएका छन्। डेमोक्रेटिक पार्टीका उम्मेदवार उनले ‘डिस्ट्रिक्ट हिलबरो ४१’ बाट जित निकालेका हुन्।

आधिकारिक रूपमा निर्वाचन परिणाम सार्वजनिक भइनसके पनि प्राप्त मतसङ्ख्या अनुसार उनको जित निश्चित भइसकेको छ। तीन स्थानका लागि भएको निर्वाचनमा उनी तेस्रो स्थानमा रहँदै जित हासिल गर्न सफल भएका हुन्।

निर्वाचन कार्यालयको पछिल्लो मतगणना अनुसार डेमोक्रेटिक पार्टीकै लिली एम. फस ६,३१६ मतका साथ पहिलो र टम स्टेवार्ट ६,२४१ मतका साथ दोस्रो स्थानमा छन् भने शाह ५,७२६ मतका साथ तेस्रो स्थानमा रहेका छन्।

प्रतिस्पर्धामा चौथो स्थानमा रहेका रिपब्लिकन उम्मेदवार रायन हेबर्टले ३,३९५ मत प्राप्त गरेका छन्। शाह र रायनबीचको मतान्तर २,३३१ रहेको छ। उक्त निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या र खसेको मतका आधारमा यो ठूलो मतान्तर हो, जसलाई उछिन्ने सम्भावना छैन।

शाहले पहिलो चुनावी दौडमै सफलता हासिल गर्दै म्यान्चेस्टर राज्यबाट विधायक बन्ने पहिलो नेपालीका रूपमा इतिहास रचेका छन्। उनी अमेरिकामा राज्य विधायक बन्ने नेपालीमूलका तेस्रो व्यक्ति हुन्।

यसअघि सन् २०१८ मा मेरिल्याण्ड-८ बाट चुनाव जितेर डा. ह्यारी भण्डारीले अमेरिकी राज्य विधायकमा नेपालीको खाता खोलेका थिए। त्यसको चार वर्षपछि सराहना श्रेष्ठले न्युयोर्क-१०३ बाट विजयी भई नेपालीमूलका विधायकको सङ्ख्या दोब्बर बनाएकी थिइन्।

संयोग नै मान्नुपर्छ, त्यसको अर्को चार वर्षपछि सन् २०२६ मा सम्पन्न निर्वाचनमा विश्व शाहले अर्को राज्यमा खाता खोल्दै अमेरिकामा नेपालीमूलका विधायकको सङ्ख्या दुईबाट बढाएर तीन पुर्‍याएका छन्।

शाह नेपाली सेनाका पूर्वमेजर हुन्। लामो समय न्युयोर्क बसेर नेपाली डायस्पोरामा सार्वजनिक व्यक्तित्व बनाएका उनी सन् २०२० मा न्यू ह्याम्पसायरको म्यान्चेस्टरमा बसाइँ सरेका थिए।

उनी बसोबास गर्ने ‘हिलबरो ४१’ निर्वाचन क्षेत्र डेमोक्रेटिक पार्टीको प्रभाव रहेको क्षेत्र मानिन्छ। यसपटक रिक्त रहेका दुई सिटमध्ये एक सिटमा शाह विजयी भएका हुन्। उनले प्राइमरी (आन्तरिक) प्रतिस्पर्धामा खरो उत्रिँदै डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गरेका थिए।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000