
एजेन्सी । एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई आगामी महिना अमेरिकी सिनेट समितिसमक्ष बयान दिन बोलाइएको छ । चिनियाँ जासुस भएको आशंका गरिएकी एक महिलासँग प्रेम सम्बन्ध भएको स्वीकार गरेका हुवाङले बिहीबार अचानक राजीनामा दिएका थिए ।
हुआङको व्यक्तिगत सम्बन्धबारे सार्वजनिक भएका खुलासाले सिलिकन भ्यालीमा ठूलो तरंग पैदा गरेको छ । विवाहेतर सम्बन्धको आरोप सार्वजनिक भएपछि उनको नेतृत्वमाथि समेत प्रश्न उठेको छ । चीनमा एनभिडियाका संवेदनशील एआई चिप निर्यातको विषयमा छानबिनको घेरामा रहेका अमेरिकी वाणिज्यमन्त्री होवार्ड लटनिकलाई पनि डिसेम्बरमा सिनेटको बैंकिङ समितिसमक्ष उपस्थित हुन बोलाइएको छ ।
यस विवाद सार्वजनिक भएसँगै पाँच दिनमै एनभिडियाको सेयर बजार मूल्य ५५० अर्ब अमेरिकी डलर (करिब ४१५ अर्ब पाउन्ड)ले घटेको छ ।
अमेरिकी सिनेटको बैंकिङ समितिका अध्यक्ष तथा रिपब्लिकन सिनेटर टिम स्कटले बिहीबार हुआङ र लटनिकलाई पत्र पठाउँदै समितिसमक्ष उपस्थित भएर बयान दिन आग्रह गरेका हुन् ।
दक्षिण क्यारोलिनाका सिनेटर स्कटले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हालै सार्वजनिक भएका विवरणले हाम्रो राष्ट्रिय सुरक्षा र संवेदनशील अमेरिकी प्रविधिको संरक्षणबारे गम्भीर चिन्ता उत्पन्न गरेका छन् ।’
उनले अमेरिकी जनताले यस विषयमा जवाफ पाउनुपर्ने बताएका छन् । स्कटले हुआङलाई डिसेम्बर ३ मा स्वेच्छाले उपस्थित हुन आग्रह गरेका छन् । तर, उनी उपस्थित नभए समितिले बाध्यकारी समन जारी गर्न सक्ने चेतावनीसमेत दिइएको छ । यसैगरी, अमेरिकी प्रतिनिधिसभाका तीन समितिले पनि हुआङलाई डिसेम्बर १ मा बन्द कोठाभित्र हुने छलफलमा उपस्थित हुन पत्र पठाएका छन् । ती समितिमा गुप्तचर, विदेश मामिला र चीनसम्बन्धी विषय हेर्ने समिति छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका केही अधिकारीले चीनमा अत्याधुनिक एआई चिप निर्यातमा कडाइ गर्ने प्रयास वाणिज्यमन्त्री लटनिकले रोकेको भन्दै सञ्चारमाध्यमलाई जानकारी दिएपछि उनी पनि विवादमा तानिएका हुन् । यद्यपि, अमेरिकी वाणिज्य मन्त्रालयका प्रवक्ताले लटनिकले सिनेटको बैंकिङ समितिसमक्ष उपस्थित हुन ‘सक्रिय रूपमा सहमति जनाएको’ बताएका छन् ।
सन् १९९३ देखि एनभिडियाको सार्वजनिक अनुहारका रूपमा रहेका हुआङले आइतबार आफ्नी पत्नीप्रति आफू ‘इमानदार नरहेको’ स्वीकार गरेका थिए । चिनियाँ जासुस भएको आशंका गरिएकी एलिस हुआङसँग उनको विवाहबाह्य सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि उनले यस्तो स्वीकारोक्ति दिएका हुन् ।
बुधबार भने उनको एनभिडियाकै एक उच्च अधिकारीसँग पनि सम्बन्ध रहेको अर्को विवरण सार्वजनिक भएको थियो । एलिस हुआङ (जेन्सेन हुआङसँग कुनै पारिवारिक सम्बन्ध नभएकी) सिंगापुरको कम्पनी मेगास्पिडमा कार्यकारीका रूपमा कार्यरत थिइन् । द न्युयोर्क टाइम्सका अनुसार उनी चीनका लागि गुप्तचर गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ । तर, चीनले उक्त आरोपलाई बदनाम गर्ने प्रयास भन्दै अस्वीकार गरेको छ ।
अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले बिहीबार एलिस हुआङ बेइजिङका लागि जासुसी गतिविधिमा संलग्न थिइन् वा थिइनन् भन्ने विषयमा न्याय मन्त्रालयले अहिलेसम्म कुनै निष्कर्ष ननिकालेको बताएका छन् । एनभिडियाका अधिकारीहरूले बुधबारदेखि यस विषयमा टिप्पणी गर्न अस्वीकार गर्दै आएका छन् । हुआङका व्यक्तिगत प्रतिनिधिले पनि बिहीबार प्रतिक्रिया दिन मानेनन् ।अमेरिकी सञ्चारमाध्यमका अनुसार हुआङको दोस्रो कथित सम्बन्ध एनभिडियाकी लामो समयदेखि कार्यरत कार्यकारी किम्बर्ली पावेलसँग रहेको थियो । पावेल कम्पनीभित्र सिधै हुआङलाई रिपोर्ट गर्ने पदमा थिइन् ।


















