Logo
Logo

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त


0
Shares

काठमाडौं । अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रवार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिवार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार शुक्रबारको अवरोधका कारण निर्धारित उडानमध्ये करिब १२ हजार उडान सञ्चालन हुन सकेनन् । शनिवारका लागि निर्धारित ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द  गरिएको थियो । पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकका कारण देशका विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका थिए ।

एफएएका प्रशासक ब्रायन बेडफोर्डले शनिवार हवाई यातायात प्रणाली स्थिर र सञ्चालनमा रहेको जानकारी दिए । उनले उडानमा अझै ढिलाइ तथा रद्द हुने समस्या देखिए पनि आइतबारसम्म सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको बताए । 

“आज पनि उडानमा ढिलाइ र रद्द हुने समस्या रहनेछ, तर यसले भोलिसम्म पूर्ण रूपमा सेवा पुनः सञ्चालन गर्न सहयोग गर्नेछ,” बेडफोर्डले भने । उनले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै हवाई यातायात नियन्त्रक, विमान चालक तथा परिचारिकाहरूको कामको प्रशंसा गरे ।

यसैबीच, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको र यसबाट कसैको ज्यान जोखिममा नपरेको बताएका छन् । 

यातायातमन्त्री सिन डफीका अनुसार शुक्रवार दिउँसो दुर्गम क्षेत्रमा रहेको हवाई यातायात प्रणालीको पुरानो तामाको तारलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने काम भइरहेको थियो । प्रणालीको एउटा भाग स्तरोन्नति भइरहेका बेला अत्यधिक भारका कारण समस्या उत्पन्न भएको उनले जानकारी दिए । 

प्रभावित यात्रुलाई राहत दिन विभिन्न विमान कम्पनीले टिकट परिवर्तन शुल्क हटाएका छन् । उडान रद्द भएका यात्रुले अर्को उडानमा निःशुल्क स्थानान्तरण वा टिकटको पूर्ण रकम फिर्ता पाउने व्यवस्था गरिएको छ । केही कम्पनीले शुक्रवार र शनिवारका यात्रुका लागि मात्र नभई आइतबार र सोमबारका लागि टिकट बुक गरेका यात्रुलाई समेत यो सुविधा विस्तार गरेका छन् । अधिकारीहरूले अमेरिकी हवाई क्षेत्र सुरक्षित रहेको र सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000