Logo
Logo

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यक छ : रवि लामिछाने


0
Shares

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् ।  सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गरेको मेची-महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । 

The current image has no alternative text. The file name is: rabi-lamichanee.jpg

सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने उनले आवश्यकता औँल्याए । 

सभापति लामिछानेले सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको उल्लेख  गरे ।  

“सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,” सभापति लामिछानेले  भने, “सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ ।” मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्नेमा उनको जोड रहेको छ । 

सभापति लामिछानेले विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताए ।  कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई थप मजबुत बनाउन यस्ता पदयात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै उनले मेची–महाकाली यात्राले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने बताए । 

त्यस अवसरमा पदयात्रा अभियन्ता सिंहले मुलुकमा सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आम नागरिकले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले मेची-महाकाली पदयात्रा सुरु गरेको बताए । उनले मुलुकको वर्तमान अवस्था, नागरिकका अपेक्षा र विभिन्न क्षेत्रका समस्याबारे यात्राका क्रममा प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । 

पदयात्रा केवल भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अभियान पनि भएको उनले स्पष्ट पारे। सांसद सिंहले पदयात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल यात्रा गर्ने जानकारी दिए । जानकी मन्दिरबाट सुरु भएको उक्त यात्राका क्रममा मधेससहित देशका विभिन्न भू–भागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरिने जानकारी दिइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000