सिन्धुली । जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

गोलन्जोर गाउँपालिका-७ पलासेस्थित बीपी राजमार्गमा मंगलबार दिउँसो म प्र ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गाडीमा सवार १४ जना नै घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ।
घाइतेमध्ये धनुषाको शहीदनगर नगरपालिका–८ का चालक दीपक कुमार दास, सोही ठाउँका १७ वर्षीया रानी कुमारी मण्डल, शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन्। त्यस्तै, ललितपुरको भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह तथा उनकी १६ वर्षीया छोरी जेनी साह, ११ वर्षीया छोरी सफलता साह र ३ वर्षीया छोरी ओमी साहको पनि नाम खुलेको छ।
बाँकी ५ जना घाइतेहरूको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।


















