काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई रोजगारी खोजेर भौंतारिनुभन्दा आफैँ रोजगारी सिर्जना गर्ने उद्यमशीलतामा लाग्न आग्रह गरेका छन् ।

नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेशनल भोलन्टियर फोर्सले देशको रक्षा, उन्नति र प्रगतिका साथै आर्थिक विकास तथा उद्यमशीलता प्रवर्द्धनमा समेत भूमिका खेल्नुपर्ने बताए । उनले युवाहरूलाई कृषि, सूचना प्रविधि (आईटी), साना उद्योग तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सुझाव दिएका हुन् ।
‘देशको रक्षा, देशको उन्नति, देशको प्रगति साथै आफूलाई उद्यमशीलताको बाटोबाट उद्यमीको रूपमा विकास गर्ने र देशको अर्थतन्त्रलाई अगाडि बढाउने काममा पनि भोलन्टियर फोर्सले काम गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘हरेक युवालाई म आग्रह गर्न चाहन्छु, धेरै जागिर खोजेर भौंतारिने होइन, रोजगारीका अवसरहरू आफैँ सिर्जना गर्नुहोस् ।’ उनले सरकारमा रहँदा युवाहरूलाई बिना धरौटी २५ लाखसम्म र महिला दिदीबहिनीहरूलाई न्यून ब्याजदरमा १५ लाखसम्म कर्जा उपलब्ध गराइएको उल्लेख गर्दै त्यसलाई सदुपयोग गर्न आग्रह गरे ।
युवा स्वरोजगार कार्यक्रमहरूलाई अगाडि बढाउन पनि उनले जोड दिऊ । राजनीतिमा लागेपछि निकम्मा भइन्छ भन्ने भाष्यलाई तोड्दै राजनीति र उद्यमशीलतालाई सँगसँगै अघि बढाउन अध्यक्ष ओलीले युवाहरूलाई आग्रह गरे । ‘राजनीतिमा लाग्दा निकम्मा हुने होइन, राजनीतिमा लागेर आफूलाई पनि रोजगारी हुने र अरूलाई पनि रोजगारी सिर्जना हुने उद्यमशीलता हो,’ उनले भने । उनले युवाहरूलाई आफ्नै कफी सप, बेकरी, टेलरिङ हाउस, फार्मेसीलगायतका व्यवसाय सञ्चालन गर्न सक्ने उदाहरण दिँदै विदेशी वा स्थापित ब्रान्डको नाममा निर्भर हुनुभन्दा आफ्नै ब्रान्ड विकास गर्न जोड दिऊ ।
अध्यक्ष ओलीले युवाहरूलाई सीप र गुणस्तरमा ध्यान दिएर प्रतिस्पर्धी व्यवसाय सञ्चालन गर्न र व्यक्तिगत रोजगारीमा मात्र सीमित नभई अरूलाई समेत रोजगारी दिन सक्ने उद्यम स्थापना गर्न आग्रह गरे ।


















