Logo
Logo

‘सपना पूरा गर्न आत्मविश्वास हुनुपर्छ’


बिनिता गुरुङ पोखरेल, मिसेस नेपाल वल्र्ड

0
Shares

काम पारिवारिक जिम्मेवारी र मातृत्वलाई सम्हाल्दै सन् २०२६ को मिसेस नेपाल वल्र्डको शीर्ष उपाधि यसपालि ३२ वर्षीय बिनिता गुरुङले हात्त पारिन् । आफूले चाहेको सपना पूरा गर्न विवाह उमेर र उत्तरदायित्वले छैक्दैन भन्ने उदारण बनेकी बिनिता नेपाल राष्ट्र बैंकमा कार्यरत छिन् भने उनी तीन सन्तानकी आमा पनि हुन् । जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा पनि सहभागी हुने तयारीमा रहेकी उनै मिसेस नेपाल वल्र्ड बिनिता गुरुङसँग दृष्टि सहकर्मी रेजिना पाण्डेले गरेको कुराकानी :

२०२६ को मिसेस नेपाल वल्र्डको शीर्ष उपाधि जित्नुभयो कस्तो महसुस भइरहको छ ?

धैरै खुसी लागेको छ । बधाईको ओइरो आइरहेको छ बधाई लिने क्रममा नै छु यतिखेर ।

प्रतिस्पर्धामा सहभागी हुँदा जित्छु जस्तो लागेको थियो ?

हरेक प्रतिस्पर्धामा सहभागी हुँदा जित्छु भन्ने आत्मविश्वासले नै गइन्छ । ममा पनि जित्छु भन्ने आत्मविश्वास थियो । अर्जुन तीर बाणको निशानाझैँ मेरो पनि निशाना क्राउन नै थियो ।

जब टाइटलको अनाउसमेन्ट भयो तपाईंले पहिले कसलाई सम्झनुभयो ?

मेरो छ महिनाको छोरा, दुई छोरी, श्रीमान् र ममीलाई सम्झेँ, जसको कारण मलाई क्राउन दिलायो ।

यतिखेर तपाईँ ६ महिनाको सुत्केरी हुनुहुन्छ, आनन्दले बस्ने बेला मिसेस वल्र्डमा सहभागी हुनुभयो, कतिको गाह्रो भयो ?

ग्राह्रो त भइनैहाल्छ नि । बच्चा पाउँदाको पीडा, शारीरिक दुखाइ कस्तो हुन्छ भोगेकोलाई मात्र थाहा हुन्छ । तर रुचि जिम्मेवारी पनि आफ्नो ठाउँमा छ । आफनो रुचि चाहानालाई पूरा गर्न गाह्रो अप्ठेरो सबै सहनुपर्छ । जितपछि पीडा सबै बिर्सेँ । मेरो तीन बच्चा छन्, बच्चाहरु मेरा लागि लक्की छन् । बच्चा पाएपछि मेरो जीवनमा धैरै उपलब्धिहरु हात परे । नेपाल राष्ट्र बंैकमा जागिरे भएँ, मिसेस वल्र्डको ताज जिते, मास्टर गरे । यसैकारण आज सबै पीडा बिर्सेर अगाडि बढिरहेकी छु ।

यसको मतलब सपना पूरा गर्न बालबच्चा जिम्मेवारीले छैक्दैन रहेछ ?

हो जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ रहर पूरा गर्न सधैँ तयार रहनुपर्छ । मेरो सपना र रहर पूरा गर्न सधैँ साथ र सपोट मेरो श्रीमानले दिइरहनुभयो ।

कार्यक्रममा सहभागी र उपाधि जित्दासम्मको अनुभव बताउनु न ?

आफूलाई म के हो भन्ने कुराको भित्रैदेखि चिन्ने अवसर पाएँ । मलाई लाग्यो कि काम र जिम्मेवारीबाहेक हामीजस्ता महिलाले कम्तीमा दैनिक एक घण्टा आफ्ना लागि सोच्यौ भने हामी हाम्रा लागि अमूल्य समय बाँच्दोरहेछौँ ।

बैंकर हुनुहुन्छ काम, बच्चा, परिवार सबै ट्रेनिङमा जान कसरी मिलाउनुभयो ?

हो यसका लागि मलाई मेरो ममी र श्रीमान्ले धैरै साथ ‘सपोट’ दिनुभयो, जसले बच्चा र घरको काममा हात बढाइदिनुभयो । आठ घण्टाको ड्युटी सिध्याएर पनि म समय मिलाउँथे ।

बैंकको टप पोजिसनमा हुनुहुन्छ, ग्लामरसतिरको रुचि चाहिँ कसरी जाग्यो नि ?

मान्छेहरुको रुचि पनि समयअनुसार हुन्छ । यो रुचि मेरो पहिलेदेखिकै हो । मौका भने पाएको थिइनँ, तर अहिले अवसर आयो र सहभागी भएको हुँ ।

मोडलिङ र फिल्मतिर पनि रुचि छ कि ?

छ । अवसर आयो भने गर्ने योजना छ । मान्छेले प्रयास गर्न भने कहिल्यै छोड्नु हुँदैन ।

बैंकर बिनिता र मिसेस नेपाल बिनितामा के फरक छ ?

मान्छे एउटै हो, तर सोच अझ फराकिलो भएको छ । धैरै जना मानिसका कुरा सुन्ने र बुझने भएकी छु ।

दर्जनौं प्रतिस्पर्धी हुनुहुन्थ्यो, उपाधि नपाउने प्रतिस्पर्धीहरुलाई के भन्न चाहनुहुन्छ ?

हजारौँले फर्म भरेका थिए, जति प्रतिस्पर्धीमा छानिनुभयो ती सबै विजेता हुन् । सबैले एकैनास सिक्ने मौका पाए । कार्यक्रमको बारेमा बुझ्ने मौका पाए । सबै जना सहभागीहरु विजेता नै भएको म मान्छु । सबैले केही न केही कुरा सिकेर नै गएका छन् । यो नै जित हो ।

अरु सहभागीभन्दा तपाईँमा विशेष के थियो, जसले तपार्इँलाई यसपालिको मिसेस नेपाल बनायो ?

ममा कन्फिडेन्ट थियो । पछाडि कसले के भन्लान् भन्दा पनि अगाडि कसरी आफूलाई निखार्ने भन्नेमा लागिरहेँ ।

बैंकर हुनुहुन्छ कतिको बचत गर्नुहुन्छ ?

म बचतमा भन्दा पनि लगानीमा विश्वास गर्छुु । यसको मतलब बचत नै नगर्नेचाहिँ होइन । अर्थशास्त्रको विद्यार्थी भएका कारणले पनि लगानीमा बढी विश्वास गर्छु । जसले प्रतिफल दिन्छ ।

खर्च नि ?

आवश्यकताअनुसारको खर्च गर्छु । अहिलेचाहिँ विशेष फेसनमा नै खर्च भइरहको छ ।

अन्तरजातीय विवाह गर्नुभयो, यसको फाइदा र बेफाइदा पनि बताउनु न ?

हो म गुरुङ, श्रीमान् पोखरेल । मन मिलेरै विवाह गरे । खासै फाइदा र बेफाइदा देखेकै छैन । मेरो बाबा गुरुङ र आमा क्षेत्री हो ।

अहिले धैरै अभिभावकहरु एउटै सन्तानमा सन्त्ुाष्टि हुन्छन्, तपाईँका तीनवटा छन्, रहर कि बाध्यता के हो ?

हो अहिले धैरै एउटै सन्तानमा ढुक्क हुन्छन् । तर मलाई लाग्छ सन्तान धैरै हुँदा घर रमाइलो हुन्छ । कतिले त दुई छोरीपछि छोरा पाउँदा छोराकै लागि बच्चा जन्माएको हो पनि भने । तर मलाई लाग्छ छोराछोरी दुवै समान छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000