Logo
Logo

अयोध्या–जनकपुर सीधा रेल सेवा सुरु, १९ घण्टामै नेपाल

शनिबार जनकपुरबाट, सोमबार अयोध्याबाट


0
Shares

काठमाडौं । भगवान् रामको नगरी अयोध्याबाट माता सीताको जन्मभूमि जनकपुरधाम जोड्ने पहिलो सीधा रेल सेवा सञ्चालनमा आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन शाहले सोमबार दिउँसो करिब १ः३० बजे अयोध्याबाट सरयू–कमला एक्सप्रेसलाई संयुक्त रूपमा झण्डा देखाएर उद्घाटन गरेका हुन् ।

भारतको जयनगरबाट बिहान ७ः१५ बजे छुटेको रेल भारतका उत्तर प्रदेश र बिहारका विभिन्न स्टेशन हुँदै नेपाल प्रवेश गरिसकेको छ । केही समयमै जनकपुरधाम स्टेशन पुग्ने यो रेल पहिलो दिन १ हजार १५८ यात्रु लिएर सञ्चालन भएको हो । आम यात्रुका लागि भने सेवा नोभेम्बर २८ अर्थात् मंसिर १२ गतेदेखि खुला गर्ने तयारी छ ।

वाल्मीकि रामायणको कथाअनुसार राजा दशरथ रामको विवाहका लागि जनकपुर अर्थात् मिथिला पुग्दा चार दिन लागेको थियो । तर, अब आधुनिक रेलमार्फत अयोध्या र जनकपुरबीचको यात्रा करिब १९ घण्टामै पूरा गर्न सकिनेछ ।

शनिबार जनकपुरबाट, सोमबार अयोध्याबाट रेल चल्ने

जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस साप्ताहिक रेल सेवा हुनेछ । जनकपुरधामबाट अयोध्याका लागि शनिबार र अयोध्या क्यान्टबाट जनकपुरधामका लागि सोमबार रेल छुट्ने तालिका तय गरिएको छ ।

रेल उत्तर प्रदेश र बिहारका विभिन्न प्रमुख शहर हुँदै सञ्चालन हुनेछ । यसको मार्गमा अयोध्या धाम, मनकापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगर स्टेशन पर्नेछन् । जयनगरबाट रेल नेपाल प्रवेश गरी जनकपुरधाम पुग्नेछ ।

यस रेल सेवाबाट बिहारका मधुबनी, दरभंगा र सीतामढी आसपासका बासिन्दालाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । नेपालबाट अयोध्या तथा उत्तर प्रदेश र बिहारका विभिन्न शहरमा आवतजावत गर्ने यात्रुका लागि पनि यो रेल नयाँ र सहज विकल्प बन्नेछ ।

जयनगरमा यात्रुका कागजात जाँच

भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने यात्रुका लागि जयनगर स्टेशनमा सुरक्षा तथा सीमा पारसम्बन्धी प्रक्रिया पूरा गरिनेछ । यात्रुका परिचयपत्र तथा आवश्यक कागजात जाँच हुने भएकाले रेललाई जयनगरमा लामो समय रोकिने व्यवस्था गरिएको छ ।

जनकपुरबाट अयोध्या जाने क्रममा जयनगरमा एक घण्टा र अयोध्याबाट जनकपुर आउने क्रममा दुई घण्टासम्म रेल रोकिनेछ । यात्रुले यात्रा गर्दा आवश्यक परिचयपत्र तथा कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ ।

भारत र नेपालतर्फ जाने यात्रुका लागि छुट्टाछुट्टै रिजर्भेसन चार्ट तयार गरिनेछ । उक्त चार्टमा यात्रुको नागरिकता तथा पहिचानसम्बन्धी विवरण समावेश हुने र जाँचका लागि सम्बन्धित अधिकारीलाई समेत उपलब्ध गराइनेछ ।

१७ कोच, एसी र स्लीपर सुविधा

जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेसमा कुल १७ वटा कोच रहनेछन् । रेलमा ८ वटा एसी र ७ वटा स्लीपर कोच हुनेछन् । एसीतर्फ ६ वटा थर्ड एसी र २ वटा सेकेन्ड एसी कोच रहनेछन् । बाँकी दुई कोच लगेज, गार्ड तथा पेन्ट्रीजस्ता प्रयोजनका लागि प्रयोग गरिनेछ ।

रेलमा फर्स्ट एसी र जनरल श्रेणीका कोच रहने छैनन् । रेलवे नियमअनुसार आरएसी तथा वेटिङ टिकटको व्यवस्था पनि नहुने भएकाले यात्रुले कन्फर्म टिकट पाएपछि मात्रै यात्रा गर्न सक्नेछन् ।

वरिष्ठ नागरिक तथा अपाङ्गता भएका यात्रुका लागि छुट्टै कोटा व्यवस्था गरिएको छैन । रेलको आधिकारिक भाडादर भने सार्वजनिक भइसकेको छैन । थर्ड एसी, सेकेन्ड एसी र स्लीपरको टिकट मूल्यसमेत खुलाइएको छैन ।

२०२२ देखि सञ्चालनमा छ जयनगर–जनकपुर रेल

भारत र नेपालबीच यसअघि नै जयनगर–जनकपुर–बिजलपुरा रेल सेवा सञ्चालनमा छ । सन् २०२२ अप्रिल ३ मा सुरु भएको उक्त रेल सेवाको एक दिनअघि अप्रिल २ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

बिहारको जयनगरबाट सुरु हुने उक्त रेल सेवा नेपालका कुर्था, जनकपुर र बिजलपुरासम्म सञ्चालन हुँदै आएको छ । हाल सञ्चालनमा रहेको रेलमार्ग करिब ५२ किलोमिटर लामो छ । यसलाई बर्दिबाससम्म विस्तार गर्ने योजना पनि रहेको छ ।

अब जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन भएसँगै नेपाल–भारत रेल सम्पर्क थप विस्तार भएको छ । सीमावर्ती क्षेत्रलाई जोड्दै आएको जयनगर–जनकपुर रेल सेवाभन्दा नयाँ रेलले अयोध्यासम्म सीधा यात्रा सम्भव बनाउने भएकाले धार्मिक पर्यटन, यात्रु आवागमन र दुई देशबीचको सम्पर्कमा थप सहजता आउने अपेक्षा गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000