Logo
Logo

मेयर मोह, आकाङ्क्षीको लर्को 

मेयर पद : स्थानीय नेतृत्व कि राष्ट्रिय राजनीतिको भर्याङ ?


0
Shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा मेयर बन्ने आकाङ्क्षीहरूको लर्को लाग्न थालेको छ । निर्वाचनको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन । तर, काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने र सम्भावित उम्मेदवारका रूपमा चर्चा हुने क्रम सुरु भइसकेको छ ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मंसिर ३ गते सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरिन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वसहमहामन्त्री तथा पूर्वसांसद श्रेष्ठले स्वतन्त्र रूपमा वा कुनै राजनीतिक दलको समर्थनमा चुनाव लड्ने भन्नेबारे भने स्पष्ट पारेकी छैनन् । 

श्रेष्ठको घोषणासँगै काठमाडौँको मेयर पदमा सम्भावित उम्मेदवारहरूको चर्चा पनि चुलिएको छ । वर्तमान कार्यवाहक उपमेयर सुनिता डंगोल, विद्या श्रेष्ठ, अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी प्रकृति भट्टराई बस्नेत र पूर्वमिस नेपाल शृङ्खला खतिवडाको नाम चर्चामा छ । यद्यपि, सुमनाबाहेक अन्यले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् । 

वर्तमान कार्यवाहक मेयर डंगोलले नेकपा (एमाले)बाट टिकट पाउने पक्कापक्की छ । उनले यसका लागि आन्तरिक तयारीसमेत गरिसकेकी छिन् । त्यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिँदै गरेकी विद्या श्रेष्ठ यसअघि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् । २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले एक हजार २४ मत प्राप्त गरी पराजित भएकी थिइन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको पार्टीको केन्द्रीय सदस्य पद त्यागेर उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएकी हुन् । 

प्रकृति, काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका सचिन तिमल्सेनाकी पत्नी हुन् । पूर्वमिस नेपाल  शृङ्खला खतिवडालाई रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) निकट समूहले काठमाडौँको मेयरमा अघि सार्न खोजेको चर्चा छ । उम्मेदवारी घोषणाको औपचारिक क्रम सुरु नहुँदै आकाङ्क्षीहरूको चर्चा बढ्नुले महानगरको नेतृत्वप्रति आकर्षण बढेको संकेत गर्छ ।

किन बढ्दैछ, मोह ?

स्थानीय सरकारको अधिकार, बजेट र प्रत्यक्ष कार्यकारी भूमिकाले नेपालमा स्थानीय तहमा नेतृत्व गर्न चाहनेहरू बढेको जानकारहरू बताउँछन् । स्थानीय शासनविज्ञ एवं राजनीतिक विश्लेषक विजय गुप्ताका अनुसार कार्यकारी पद भएकाले पनि मेयर पदमा आकर्षण बढेको हो ।

‘डेलिभरीबाट प्रत्यक्ष रूपमा काम देखाउन सक्ने पद हो,’ गुप्ता भन्छन्, ‘संघ र प्रदेश सरकारमा जस्तो बहुमत वा अल्पमतबाट सरकार ढल्ने कुरा पनि आउँदैन । पटक–पटक बहुमत सिद्ध गरिराख्नु पनि पर्दैन । त्यहीँ भएर स्थानीय सरकारमा आकर्षण बढेको हो ।’

२०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर बालेन, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपि हमाल निर्वाचित भएसँगै स्थानीय तहमा मेयरप्रतिको क्रेज बढेको हो । मेयर भएको दुई वर्षमा बालेन प्रधानमन्त्री बन्न सफल भए । त्यस्तै धरानका मेयर हर्क साम्पाङ पनि सङ्घीय सांसद बने । मेयरहरूको बढ््दो उन्नतिसँगै युवाहरूको यसतर्फ क्रेज बढेको हो ।

एक दशकदेखि नै नेपालमा संवैधानिक तथा कानुनी रूपमै स्थानीय तहमा युवाको प्रतिनिधित्व हुन थालेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनबाट संस्थागत रूपमा सुरु भएको हो । नेपालको संविधान २०७२ जारी भएपछि स्थानीय तहको संरचना बनेको हो । त्यसपछि बनेको स्थानीय तह निर्वाचन ऐन, २०७३ ले २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार बन्न पाउने कानुनी बाटो खुला गरिदिएको हो । 

स्थानीय तहको निर्वाचनबाटै २१ वर्ष पुगेका युवाहरू वडा सदस्य, वडाध्यक्षदेखि पालिका प्रमुख र उपप्रमुखसम्म निर्वाचित भएर आउन थालेका हुन् । उक्त निर्वाचनमा करिब ३९।६४ प्रतिशत युवाहरू स्थानीय सरकारमा निर्वाचित भएका थिए । राष्ट्रिय युवा नीतिअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवा मानिन्छ । मतदान गर्न १८ वर्ष पूरा हुनुपर्छ भने उम्मेदवार बन्न कम्तीमा २१ वर्ष पूरा हुनुपर्ने व्यवस्था छ ।

गृहकार्यमा दलहरू

निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेको छ । र, यस विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग परामर्शसमेत सुरु गरेको छ । हालका स्थानीय जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल वैशाखमा सकिँदै छ । स्थानीय चुनावका लागि पारदर्शी विधिबाट उम्मेदवार छनोट गर्ने नयाँ रूपरेखा सार्वजनिक गरेको छ । अन्य प्रमुख दलहरूले पनि संगठन विस्तार र उम्मेदवार छनोटको आन्तरिक गृहकार्य सुरु गरेका छन् ।

सांसद तथा राजनीतिकर्मीसमेत स्थानीय तहको कार्यकारी अधिकार र प्रत्यक्ष प्रभावका कारण कतिपय प्रदेश सांसद वा अन्य पदमा रहेका व्यक्तिहरूसमेत मेयर बन्न इच्छुक देखिएका छन् । 

उम्मेदवारी छ, कार्ययोजना छैन

राजनीतिक विश्लेषकहरूका अनुसार मेयर बन्ने आकांक्षी बढ्नु सकारात्मक राजनीतिक परिवर्तन भए पनि महानगर चलाउने स्पष्ट दृष्टिकोण र कार्ययोजना देखिँदैन । गत साता सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेकी सुमना श्रेष्ठले पनि हालसम्म कुनै कार्ययोजना सार्वजनिक गरेकी छैनन् ।

स्थानीय शासनविज्ञ एवं राजनीतिक विश्लेषक विजय गुप्ता मेयरको कुर्सीमा आँखा लगाउनेहरू महानगरको एजेन्डा अघि सार्न नसकेको बताउँछन् । ‘एजेन्डा देखाएर उम्मेदवारी घोषणा गर्ने मत माग्ने संस्कार बसाल्नु पर्छ,’ विश्लेषक गुप्ता भन्छन्, ‘चर्चित व्यक्ति मेयर बन्नु राम्रो कि स्थानीय समस्या बुझेको अनुभवी व्यक्ति रु मतदान गर्दा विवेक पुर्याउनुपर्छ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000