Logo
Logo

कम्प्युटरमा ह्वाट्सएप खुल्लै छ ? अकाउन्ट ह्याक हुन सक्छ


0
Shares

गृह मन्त्रालयअन्तर्गतको साइबर अपराध इकाइले कम्प्युटरमा ह्वाट्सएप प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिएको छ । कम्प्युटरमा ह्वाट्सएप लगइन गरेर खुलै छाड्दा प्रयोगकर्ताको निजी विवरण, गोप्य कुराकानी तथा संवेदनशील सूचनाहरू साइबर अपराधीको पहुँचमा पुग्न सक्ने भन्दै मन्त्रालयले सचेत गराएको हो ।

इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टरले जारी गरेको एडभाइजरीमा ह्वाट्सएप वेब लगइन सेसन दुरुपयोग गरेर साइबर अपराधीले प्रयोगकर्ताको अकाउन्ट नियन्त्रणमा लिन सक्ने उल्लेख छ । विशेषगरी कार्यालय, सरकारी निकाय वा सार्वजनिक स्थानमा कम्प्युटर प्रयोग गरी ह्वाट्सएप लगइन गर्ने तर काम सकेपछि लगआउट नगर्ने बानी जोखिमपूर्ण हुनसक्छ ।

साइबर अपराधीले खुला रहेको ह्वाट्सएप सेसनमार्फत निजी च्याट, कार्यालयका गोप्य विवरण र संवेदनशील सूचनाहरू पढ्न सक्छन् । त्यस्तै, प्रयोगकर्ताकै अकाउन्टबाट अधिकारी, सहकर्मी वा अन्य व्यक्तिलाई सन्देश पठाएर पैसा माग्ने, गलत निर्देशन दिने तथा विभिन्न किसिमका ठगी गर्न सक्ने खतरा रहन्छ । अकाउन्टमा रहेका ग्रुप, सम्पर्क सूची र कुराकानीको दुरुपयोग गरी अन्य व्यक्तिलाई फिसिङ लिंक पठाउने तथा ठगीको जालमा फसाउने सम्भावना पनि औँल्याइएको छ ।

कम्प्युटरमा ह्वाट्सएप प्रयोग गरेपछि ब्राउजर बन्द गर्दैमा अकाउन्ट सुरक्षित नहुने साइबर सुरक्षा चेतावनीमा उल्लेख छ । प्रयोगकर्ताले लगआउट नगरेको अवस्थामा उक्त कम्प्युटर चलाउने अर्को व्यक्तिले सक्रिय लगइन सेसनबाट ह्वाट्सएपको दुरुपयोग गर्न सक्छ । कम्प्युटरमा मालवेयर रहेको वा अरू कसैले कम्प्युटर नियन्त्रणमा लिएको अवस्थामा समेत अकाउन्ट र त्यसमा रहेका विवरण जोखिममा पर्न सक्छन् ।

गृह मन्त्रालयले ह्वाट्सएप वेबमार्फत सरकारी, कार्यालयका गोप्य, संवेदनशील तथा वित्तीय जानकारी आदानप्रदान नगर्न आग्रह गरेको छ । हरेक पटक प्रयोग सकेपछि अनिवार्य रूपमा लगआउट गर्न, सार्वजनिक कम्प्युटर, साइबर क्याफे तथा होटलमा ह्वाट्सएप वेब प्रयोग नगर्न र ब्राउजरको इन्कग्निटो वा प्राइभेट मोड अपनाउन सुझाव दिइएको छ ।

त्यस्तै, कम्प्युटर तथा ब्राउजरको सुरक्षा प्रणाली नियमित अपडेट राख्न र सार्वजनिक वा साझा कम्प्युटरमा व्यक्तिगत अकाउन्ट लगइन नगर्न पनि मन्त्रालयले सचेत गराएको छ । साइबर सुरक्षामा सामान्य लापरबाहीले पनि व्यक्तिगत गोपनीयता भंग हुनुका साथै आर्थिक ठगी र डिजिटल पहिचानको दुरुपयोग हुन सक्ने भएकाले प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000