
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा मेयर बन्ने आकाङ्क्षीहरूको लर्को लाग्न थालेको छ । निर्वाचनको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन । तर, काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने र सम्भावित उम्मेदवारका रूपमा चर्चा हुने क्रम सुरु भइसकेको छ ।
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मंसिर ३ गते सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वसहमहामन्त्री तथा पूर्वसांसद श्रेष्ठले स्वतन्त्र रूपमा वा कुनै राजनीतिक दलको समर्थनमा चुनाव लड्ने भन्नेबारे भने स्पष्ट पारेकी छैनन् ।
श्रेष्ठको घोषणासँगै काठमाडौँको मेयर पदमा सम्भावित उम्मेदवारहरूको चर्चा पनि चुलिएको छ । वर्तमान कार्यवाहक उपमेयर सुनिता डंगोल, विद्या श्रेष्ठ, अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी प्रकृति भट्टराई बस्नेत र पूर्वमिस नेपाल शृङ्खला खतिवडाको नाम चर्चामा छ । यद्यपि, सुमनाबाहेक अन्यले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।
वर्तमान कार्यवाहक मेयर डंगोलले नेकपा (एमाले)बाट टिकट पाउने पक्कापक्की छ । उनले यसका लागि आन्तरिक तयारीसमेत गरिसकेकी छिन् । त्यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिँदै गरेकी विद्या श्रेष्ठ यसअघि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् । २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले एक हजार २४ मत प्राप्त गरी पराजित भएकी थिइन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको पार्टीको केन्द्रीय सदस्य पद त्यागेर उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएकी हुन् ।
प्रकृति, काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका सचिन तिमल्सेनाकी पत्नी हुन् । पूर्वमिस नेपाल शृङ्खला खतिवडालाई रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) निकट समूहले काठमाडौँको मेयरमा अघि सार्न खोजेको चर्चा छ । उम्मेदवारी घोषणाको औपचारिक क्रम सुरु नहुँदै आकाङ्क्षीहरूको चर्चा बढ्नुले महानगरको नेतृत्वप्रति आकर्षण बढेको संकेत गर्छ ।
किन बढ्दैछ, मोह ?
स्थानीय सरकारको अधिकार, बजेट र प्रत्यक्ष कार्यकारी भूमिकाले नेपालमा स्थानीय तहमा नेतृत्व गर्न चाहनेहरू बढेको जानकारहरू बताउँछन् । स्थानीय शासनविज्ञ एवं राजनीतिक विश्लेषक विजय गुप्ताका अनुसार कार्यकारी पद भएकाले पनि मेयर पदमा आकर्षण बढेको हो ।
‘डेलिभरीबाट प्रत्यक्ष रूपमा काम देखाउन सक्ने पद हो,’ गुप्ता भन्छन्, ‘संघ र प्रदेश सरकारमा जस्तो बहुमत वा अल्पमतबाट सरकार ढल्ने कुरा पनि आउँदैन । पटक–पटक बहुमत सिद्ध गरिराख्नु पनि पर्दैन । त्यहीँ भएर स्थानीय सरकारमा आकर्षण बढेको हो ।’
२०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर बालेन, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपि हमाल निर्वाचित भएसँगै स्थानीय तहमा मेयरप्रतिको क्रेज बढेको हो । मेयर भएको दुई वर्षमा बालेन प्रधानमन्त्री बन्न सफल भए । त्यस्तै धरानका मेयर हर्क साम्पाङ पनि सङ्घीय सांसद बने । मेयरहरूको बढ््दो उन्नतिसँगै युवाहरूको यसतर्फ क्रेज बढेको हो ।
एक दशकदेखि नै नेपालमा संवैधानिक तथा कानुनी रूपमै स्थानीय तहमा युवाको प्रतिनिधित्व हुन थालेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनबाट संस्थागत रूपमा सुरु भएको हो । नेपालको संविधान २०७२ जारी भएपछि स्थानीय तहको संरचना बनेको हो । त्यसपछि बनेको स्थानीय तह निर्वाचन ऐन, २०७३ ले २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार बन्न पाउने कानुनी बाटो खुला गरिदिएको हो ।
स्थानीय तहको निर्वाचनबाटै २१ वर्ष पुगेका युवाहरू वडा सदस्य, वडाध्यक्षदेखि पालिका प्रमुख र उपप्रमुखसम्म निर्वाचित भएर आउन थालेका हुन् । उक्त निर्वाचनमा करिब ३९।६४ प्रतिशत युवाहरू स्थानीय सरकारमा निर्वाचित भएका थिए । राष्ट्रिय युवा नीतिअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवा मानिन्छ । मतदान गर्न १८ वर्ष पूरा हुनुपर्छ भने उम्मेदवार बन्न कम्तीमा २१ वर्ष पूरा हुनुपर्ने व्यवस्था छ ।
गृहकार्यमा दलहरू
निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेको छ । र, यस विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग परामर्शसमेत सुरु गरेको छ । हालका स्थानीय जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल वैशाखमा सकिँदै छ । स्थानीय चुनावका लागि पारदर्शी विधिबाट उम्मेदवार छनोट गर्ने नयाँ रूपरेखा सार्वजनिक गरेको छ । अन्य प्रमुख दलहरूले पनि संगठन विस्तार र उम्मेदवार छनोटको आन्तरिक गृहकार्य सुरु गरेका छन् ।
सांसद तथा राजनीतिकर्मीसमेत स्थानीय तहको कार्यकारी अधिकार र प्रत्यक्ष प्रभावका कारण कतिपय प्रदेश सांसद वा अन्य पदमा रहेका व्यक्तिहरूसमेत मेयर बन्न इच्छुक देखिएका छन् ।
उम्मेदवारी छ, कार्ययोजना छैन
राजनीतिक विश्लेषकहरूका अनुसार मेयर बन्ने आकांक्षी बढ्नु सकारात्मक राजनीतिक परिवर्तन भए पनि महानगर चलाउने स्पष्ट दृष्टिकोण र कार्ययोजना देखिँदैन । गत साता सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेकी सुमना श्रेष्ठले पनि हालसम्म कुनै कार्ययोजना सार्वजनिक गरेकी छैनन् ।
स्थानीय शासनविज्ञ एवं राजनीतिक विश्लेषक विजय गुप्ता मेयरको कुर्सीमा आँखा लगाउनेहरू महानगरको एजेन्डा अघि सार्न नसकेको बताउँछन् । ‘एजेन्डा देखाएर उम्मेदवारी घोषणा गर्ने मत माग्ने संस्कार बसाल्नु पर्छ,’ विश्लेषक गुप्ता भन्छन्, ‘चर्चित व्यक्ति मेयर बन्नु राम्रो कि स्थानीय समस्या बुझेको अनुभवी व्यक्ति रु मतदान गर्दा विवेक पुर्याउनुपर्छ ।’


















