
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले व्यहोर्नुपरेको सम्भावित आर्थिक तथा कृषि क्षतिको समेत विस्तृत हिसावकिताव गर्नुपर्ने बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्ध गरिएको विषयमा भएको छलफलका क्रममा झाले सरकारको राजश्वमा भएको नोक्शानीको मात्र हिसाव गरेर नपुग्ने बताए । आयोजना ढिलाइ हुँदा किसानले गुमाएको कृषि उत्पादन, आम्दानी र अवसरको समेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।
सांसद झाले आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति खेती प्रभावित भयो, कति सिजन सिंचाई हुन सकेन र त्यसबाट किसानले कति अवसर गुमाए भन्ने विषयमा प्रश्न उठाए । उनले सुनकोशी–मरिण आयोजनाबाट १ लाख ८० हजार बिघा जमिनमा सिंचाई सुविधा पुगेको भए कति खेती हुन्थ्यो र त्यसबाट कति उत्पादन प्राप्त हुन्थ्यो भन्ने विषयको समेत अध्ययन हुनुपर्ने बताए । आयोजना रोकिँदा आगामी दिनमा पनि कति खेती सिंचाईबाट वञ्चित हुने र त्यसबाट कति क्षति पुग्नेछ भन्ने हिसाब निकाल्नुपर्ने उनको भनाइ छ ।
उनले २०८२ साल कात्तिक २५ गते बिड क्यान्सिल गरिएको विषय उठाउँदै पहिल्यै बिडिङ प्रक्रिया पूरा भई निर्माण कार्य अघि बढेको र टनेल ब्रेकथ्रुसमेत भइसकेको आयोजनामा नयाँ विधि तथा प्रक्रिया परिवर्तन गरेर किन लागू गरियो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरे ।
झाले आयोजना रोक्ने वा रद्ध गर्ने निर्णयमा राजनीतिक पूर्वाग्रह राखिएको हो वा होइन भन्ने विषयमा समेत निष्पक्ष छानबिन हुनुपर्ने बताए । भविष्यमा कुनैपनि सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रिय महत्त्वका आयोजना रोक्ने वा रद्ध गर्ने अवस्था आउन नदिन यस्ता निर्णयको गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।
उनले आयोजनाको लागत र क्षतिको मूल्याङ्कन गर्दा राज्यकोषमा भएको आर्थिक नोक्शानीलाई मात्र आधार बनाउन नहुनेमा जोड दिए । झाले किसानले सिंचाई सुविधा नपाउँदा गुमाएको उत्पादन, आम्दानी र खेतीका अवसरको समेत मूल्याङ्कन गर्नुपर्ने बताए । उनकाअनुसार आयोजनामा भएको ढिलाइ वा ठेक्का रद्ध हुँदा राज्यकोषमा परेको असरका साथै प्रत्यक्ष रूपमा प्रभावित किसानले व्यहोरेको क्षतिको पनि लेखाजोखा हुनुपर्छ ।
‘यो आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति अवसरको क्षति (अपर्चुनिटी लस) भएको छ ? कतिवटा सिजनमा हाम्रा खेतले पानी पाएनन ? कतिवटा खेती सिंचाईबिना गर्नुप¥यो ? त्यसबाट भएको क्षतिको हिसाव कसले गर्ने ? यदि १ लाख ८० हजार बिघा जमिनमा सिंचाई सुविधा पुगेको भए कति खेती हुन्थ्यो र कति उत्पादन हुन्थ्यो भन्ने विषयको पनि मूल्याङ्कन हुनुपर्छ । आयोजना रोकिँदा अब थप कतिवटा सिजनसम्म किसानले सिंचाई सुविधा पाउन सक्दैनन् भन्ने कुराको समेत हिसाव गर्नुपर्छ । २०८२ साल कात्तिक २५ गते बिड क्यान्सिल गरियो। तपाईंहरूले विधि र पद्धति परिवर्तन गर्नुभयो । पहिल्यै बिडिङ प्रक्रिया पूरा भई निर्माण कार्य शुरु भएर टनेल ब्रेकथ्रुसमेत भइसकेको आयोजनामा नयाँ विधि तथा प्रक्रिया लागू गर्नुभयो । त्यसो किन गर्नुभयो ? यी सबै विषयमा छानबिन हुनुपर्छ । भविष्यमा राजनीतिक पूर्वाग्रह राखेर कसैले पनि यस्ता आयोजना रोक्ने वा योजनाहरू रद्ध गर्ने अवस्था आउन नदिन यस विषयमा गम्भीर छानबिन हुनुपर्छ । किनभने, यसको लागत मधेसका पाँच जिल्लाका किसानले बेहोरिरहेका छन् । सरकारको राजश्वमा कति नोक्शानी भयो भन्ने कुरा मात्र हामीले हिसाव गरेर हुँदैन । यसको वास्तविक लागत त किसानले आफ्नो खेतीमार्फत व्यहोरिरहेका छन् । उनीहरूले व्यहोरेको क्षतिको हिसावकिताव कसले गरिदिने ?,’ उनले भने ।


















