Logo
Logo

रक्षामन्त्रीले के भन्नुभयो मलाई थाहा छैनः गृहमन्त्री थापा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २३ माघ ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे रक्षामन्त्री ईश्वर पोखरेलले दिएको अभिव्यक्तिबारे आफूलाई जानकारी नभएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठक सांसदहरुले सोधेका प्रश्नहरुको जबाफ दिने क्रममा गृहमन्त्री थापाले निर्मला प्रकरणलाई लिएर रक्षामन्त्री पोखरेलले बोलेको कुरा आफूलाई थाहा नभएको उल्लेख गरे ।


रक्षामन्त्री पोखरेलले निर्मलाका हत्याराहरु पक्राउ परिसकेको र छिट्टै सार्वजनिक गर्ने बताएका थिए । तर, अहिलेसम्म अभियुक्तहरु पत्ता लागेका छैनन् ।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्मला हत्यामा संलग्नहरु पक्राउ परी सकेको भनी केही महिना अघि दिएको अभिव्यक्तिबारे गृहमन्त्रीसँग प्रश्न गरेका थिए ।
’सरकारले संदिग्ध व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइरहेको छ । रक्षामन्त्रीको अभिव्यक्ति दोषीमाथि कारवाही गर्ने स्पिरिट आएको हुनसक्छ’, मन्त्री बादलले भने, ‘रक्षामन्त्रीज्यूले बोल्नुभएको कुरा सरकारको आधिकारिक धारणा थिएन र मलाई औपचारिक जानकारी पनि छैन ।’

गृहमन्त्री थापालाई कांग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले निर्मलाका परिवार र समर्थक अनसन बसिरहँदा सरकारबाटै धम्क्याउने काम गरिएको भन्दै प्रश्न गरे । उनले मृतकका परिवारलाई प्रलोभन दिएकोबारे पनि सोधका थिए ।

गृहमन्त्री थापाले त्यस प्रश्नको जवाफ दिँदै यसबारे सूचना सरकारसँग नभएको उल्लेख गरे । मन्त्री थापाले निर्मला प्रकरणका अपराधीलाई पक्राउ गरेरै छाड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्