
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्धामा प्रमाण बुझेको कागज पेस गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काभ्रेपलान्चोकका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले आज सुनुवाइ गर्दै निवेदकले पेस गरेको प्रमाणको सम्बन्धमा सुनारलाई जानकारी गराउन आदेश दिएको हो ।
यसअघि अदालतको अवहेलना तथा सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा सुनारलाई ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।
रिट निवेदक मनीषा गौतमले अदालतमा तीन घण्टा लामो अडियो प्रमाणको रूपमा पेनड्राइभ पेस गरेको तर, पछि बुझ्दा अदालतका कर्मचारीले तीन मिनेटको मात्रै अडियो भएको बताएपछि उनले पुनः अडियो सहित निवेदन पेस गरेकी थिइन् ।
सोही निवेदनमा अदालतमा सुनुवाइ गर्दै पेस गरिएका प्रमाणबारे आरोपित सुनारलाई जानकारी गराएर कागज पेस गर्न अदालतले आदेश दिएको हो ।


















